
सुर्खेत । कर्णाली प्रदेशका प्रमुख राजमार्गलाई बर्सात समयमा अबरुद्ध हुन नदिनका लागि कर्णाली प्रदेशमा रहेका सडक डिभिजन कार्यालयहरुले रणनीति तयार गरेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेत हुँदै जाने राजमार्गहरुमा अबरुद्ध हुन नदिनका लागि ठाउँ–ठाउँ तिब्र तयारीका साथ डोजरहरु राखेर बर्सातको समयमा अबरुद्ध हुन नदिने रणनीति अगाडी सारेका हुन् ।
कर्णालीका प्रमुख राजमार्ग कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक, सुर्खेत–दैलेख सडक, भेरी करिडोरको छिन्चु–जाजरकोट–डोल्पा सडक र सुर्खेत–पुरन्धारा भएर दाङ जोड्ने सडकलाई केन्द्रित गरी सडक डिभिजन कार्यालय सुर्खेतले चार वटा डोजर तैनाथ गरेको छ ।
कर्णाली राजमार्गलाई लक्ष्य गरी दैलेखको राकम र तल्लो डुङ्गेश्वरमा, सुर्खेत–दैलेख सडकलाई लक्ष्य गरी दैलेखको गुराँसेमा, भेरी करिडोरलको छिन्चु–जाजरकोट सडक तथा सुर्खेत–पुरन्धारा (दाङ) सडकलाई लक्षित गरेर सुर्खेतको बोटेचौरमा डोजर तैनाथ गरिएको सडक डिभिजन प्रमुख खुमबहादुर भण्डारीले बताए । ‘यी डोजरले लेदो माटो खसेर सडक अवरुद्ध गराए वा ससाना पहिरोले अवरुद्ध गराएको खण्डमा सफा गरी सडक खुलाउने काम गर्नेछन्,’उनले भने,‘वर्षा मौसम लाग्नासाथ कर्णालीका प्रमुख राजमार्ग अवरुद्ध हुन सक्ने सम्भावनालाई ध्यानमा राखी डोजरहरू तयारी अवस्थामा राखिएको छ ।’
ठुलो पहिरो खसेर सडक अवरुद्ध हुने अवस्था आए नेपालगन्जबाट एक्साभेटर ल्याएर सडक सञ्चालनमा ल्याइने तयारी कार्यालयले गरेको छ ।

बिषेश गरेर कर्णाली राजमार्गको दैलेख र कालीकोटको दैखोला, सुनारखोला, पाल्तडा, पाली, गगनेखोलालगायतका ठाउँमा अत्यधिक पहिरो खस्ने गर्छ । यस्तै सुर्खेत–दैलेख सडकखण्डमा गुराँसे, रानीमत्ता, माथिल्लो डुङ्गेश्वर क्षेत्रमा वर्षायाममा पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ भने छिन्चु–जाजरकोट सडक र सुर्खेत–दाङ सडकका विभिन्न भागमा पहिरो खस्ने गरेको छ । त्यसैलाई लक्षित गरेर तयारी गरिएको सडक डिभिजन कार्यालय सुर्खेत रणनीति बनाएको जनाएको छ ।
कर्णाली राजमार्गको के छ अवस्था
कर्णाली राजमार्गको सुर्खेतदेखि मुगुसम्मको सडकखण्डमा बर्सातको समयमा बाढीपहिरोका कारणले अबरुद्ध हुने भएकाले ठाउँ–ठाउँमा महत्वपूर्ण उपकरणसहित डोजरलाई तयारी अबस्थामा राखिएको छ ।
कर्णाली राजमार्ग अवरुद्ध नहोस् भनी डोजर तैनाथ अवस्थामा राखिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । कर्णाली राजमार्गको सुर्खेत–दैलेख–कालीकोट–जुम्ला–मुगु सडकलाई सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाले सात ठाउँमा डोजर राखिएका छन् ।
त्यस्तै, सडक डिभिजन कार्यालय जुम्लाले कालीकोटदेखि मुगुसम्म सडकलाई लक्षित गरेर पाँच ठाउँमा डोजर तैनाथ गरेको छ ।

कालीकोटको गगनेखोला–दैखोलादेखि खुलालुसम्मका लागि खुलालुमा, खुलालुदेखि मान्मसम्मका लागि हुल्ममा, मान्मदेखि टाकुल्लासम्मका लागि पिलीमा, टाकुल्लादेखि नाग्मसम्मका लागि गाल्जेमा र कालीकोटको नाग्म–जुम्लादेखि मुगुसम्मका लागि बुलबुलेमा डोजर तैनाथ गरिएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी इन्जिनियर प्रदीपनारायण चौधरीले बताए । ‘कर्णाली राजमार्गमा कुनै सानातिना पहिरो तथा अन्य समस्या भए तत्काल सञ्चालनमा ल्याउनका लागि डोजरसहितको जनशक्ति तैनाथ गरिएको छ,’ उनले भने,‘बर्सातका समयमा कर्णाली राजमार्गमा सानातिना पहिरो आउने क्रम जारी नै रहन्छ ।’
कर्णाली राजमार्गमा विशेष गरी दैलेख र कालीकोट खण्डमा पहिरो खसेर बढी सडक अवरुद्ध हुने सूचना अधिकारी चौधरीले बताए । उक्त राजमार्गको दैखोला, सुनारखोला, पाल्तडा, पाली, गगनेखोलालगायतका ठाउँमा अत्यधिक पहिरो खस्ने गर्छ ।
सडक खुलेको १९ वर्षसम्म पनि उस्तै सास्ती
कर्णाली राजमार्ग खुलेको १९ वर्षसम्म उस्तै सास्ती रहेको छ । कर्णाली राजमार्ग ३० चैत्र २०६३ पहिलो पटक जुम्लामा गाडी पुगेको थियो । यो राजमार्गमा गाडी चल्न थालेपछि यहाँका नागरिकको जीवनस्तरमा धेरै परिवर्तन ल्यायो । तर, हिउँदमा धुलो हुने र बर्सातमा हिलो तथा पहिरो गइरहेने भएका कारणले नागरिकहरुले सास्ती भोग्दै आएका छन् ।
राजमार्गमा ओटासिल प्रविधिको कालोपत्र गर्न र सेफ्टी बारसहित पर्खाल निर्माणका लागि विश्व बैंकको करिब २ अर्ब रुपैयाँ खर्च गरेको थियो । तालुक निकायको अनुगमनको कमी, कमसल निर्माण सामग्रीको प्रयोगलगायतका कारण राजमार्ग जीर्ण बनेको छ ।
झन्डै ८० प्रतिशत कालोपत्र उप्किएपछि पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने भएकाले यस राजमार्ग हुँदै यात्रु हिँड्नै नचाहने गरेको कालीकोट नरहरिनाथ गाउँपालिका–९ का निर्मलकुमार विष्टले बताए । ‘साँघुरो सडक, सानो गल्ती भए पनि गाडी सिधै कर्णालीमै खस्छ,’ उनले भने,‘सडकको सेफ्टीका लागि हालिएका अंधिकार बारहरु भत्किएका छन् ।’
सडक डिभिजन कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित बाङ्गेसिमलदेखि दैलेखको दहीखोलासम्मको १३२ किलोमिटर खण्डलाई हेर्छ भने त्यहाँभन्दा माथि जुम्लासम्मको १०४ किलोमिटर खण्ड सडक डिभिजन जुम्लाले हेर्दै आएको छ ।
प्रत्येक वर्ष सडक टालटुलका लागि बजेट आउने भएकाले सडकको स्तरउन्नती हुन नसकेको स्थानीयहरुको भनाई रहेको छ ।

नेपाल कर्म । २२ असार २०८२, आईतवार १५:३३