वीरेन्द्रनगरकाे ८ नम्बर सुर्खेतको पहिलाे बालमैत्री तथा वातावरणमैत्री वडा घोषणा

सुर्खेत । स्थानीय सरकार संचालन ऐन २०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०७९ मा उल्लेखित ५१ सूचक र मापदण्ड पूरा भएसँगै शनिबार वडा नम्बर ८ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । उक्त वडालाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले बालमैत्री घोषणा गरेका हुन् ।



मुख्यमन्त्री कँडेलले नगरपालिकाले दुई वर्षअघि थालेको बालमैत्री स्थानीय शासन अवलम्बनमार्फत तोकिएका सूचकगत लक्ष्य पूरा भएसँगै उक्त वडालाई सुर्खेत जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेका हुन् ।

स्थानीय तहलाई बालमैत्री घोषणाका लागि संघीय सरकारद्वारा जारी निर्देशिका र कार्यविधिअनुसार कम्तिमा ५१ सूचक र पाँच चरणअन्तर्गत २८ खुड्किलामा तोकिए अनुसारको नतिजा प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

जसमा बाल बचाऊको क्षेत्रमा १४, संरक्षणको क्षेत्रमा १०, बाल विकासमा ६, सहभागितामा ६ र संस्थागतमा जम्मा १५ सूचक पूरा भएको जनाइएको छ । यस्तै, वडा नम्बर ८ लाई वातावरणमैत्री वडा घोषणा गरिएको छ ।

वातावरणसम्बन्धी तोकिएका सूचकहरू पूरा भएसँगै वडालाई वातावरण मैत्री स्थानीय शासनयुक्त वडा घोषण गरिएको हो । बाल तथा वातावरणमैत्री वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले स्थानीय तहले हरेक क्षेत्रलाई बालबालिका र वातावरणलाई पहिलो प्राथमिकतामा राखेर कार्यसम्पादन गर्नुपर्ने बताए । मुख्यमन्त्री कँडेलले बालबालिकाको संरक्षण, विकास र सहभागिताको सुनिश्चितता गर्न स्थानीय, प्रदेश र संघ सरकारले जिम्मेवारी बोधका साथ काम गर्नुपर्ने बताए ।

‘वातावरण संरक्षण र बाल अधिकार प्रवर्द्धनलाई परस्पर पूरक विषयका रूपमा जोड्दै स्वस्थ वातावरणमा हुर्कने बालबालिका नै समुन्नत राष्ट्र निर्माणका संवाहक हुन्,’ उनले भने, ‘प्रदेश सरकारले बालमैत्री समाज निर्माणमा आवश्यक नीति, कार्यक्रम तथा बजेटमा प्राथमिकता दिएको छ ।’ उनले तीनै तहका सरकारले गर्ने विकास निर्माण वातावरणमैत्री हुनुपर्ने बताए ।

यस्तै, वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले एक वर्षभित्र सिङ्गो वीरेन्द्रनगरलाई नै बाल तथा वातावरणमैत्री पालिका बनाउने तयारी रहेको बताइन् । नगरपालिकाबाट तय हुने नीति र सञ्चालन हुने विकास निर्माणका काम बाल तथा वातावरणमैत्री अवधारणमा भइरहेको बताइन् ।

उनले २०८३ मंसिरसम्म वीरेन्द्रनगरलाइ बालमैत्री तथा वातावरणमैत्री नगरपालिका घाेषणा गर्नेगरी काम गरिरहेकाे जानकारी दिइन् ।

वातावरणमैत्री वडा हुन लागि १२ वटा सूचक पूरा गरेकाे हुनुपर्दछ । भान्सा तथा वाथरुमको पानीमा ठोस फोहररहीत निष्काशन गरिएको, घर परिसर वा कौसिमा कम्तीमा बहु वर्षिय दुइ वटा विरूवा भएको, नियमित दाउराबाट खाना पकाउने घरमा सुधारिएको चुलो प्रयोग गरिएको, खाना पकाउन र बाल्न पेट्रोलियम उर्जाको प्रयोग नगरेको र उर्जा कम खपत गर्ने चिमको प्रयोग गर्ने गरेको मापदण्ड छ ।

यस्तै, पिउनका लागि सुरक्षित पानी भएको, घरपालुवा कुकुरको दिसा उचित व्यवस्थापन गर्ने गरेको, प्रत्येक घरमा शौचालय प्रयोग गरिएको, प्रत्येक घरमा हात धुने स्थान भएको र प्रयोगमा आएको, कुहिने फोहरलाई छुट्याई मल बनाउने गरेको, नसड्ने फोहर मात्र फोहर दुवानी साधनमा राख्ने गरेको र कम गुणस्तरको प्लास्टिक झोला प्रयोग नगर्ने गरेको समावेश छन् ।

तपाईको प्रतिक्रिया