

सुर्खेत । वीरेन्द्रनगर–३ मुलपानी नजिकै छ साना किसान कृषि सहकारी संस्था लिमिटेड उत्तरगंगा । कुनै बेला उत्तरगंगा गाविसका कृषकहरुको मेरुदण्ड बनेर उभिएको यो सहकारी स्थापना भएको तीन दशक पुग्दैछ ।

अधिकाँश कृषकले अझै पनि साना किसानलाई उत्तरगंगाको सहकारी भनेर पहिचान दिन्छन् । २०५२ सालमा स्थापना भएको सहकारीले मुख्यगरी विपन्न वर्गका नागरिकहरुको कृषिको माध्यमबाट दैनिक आयस्तर उकास्न समूह गठन गरेर ऋण लगानी गर्दै आएको छ ।
ऋणबाट मात्रै मुनाफा कमाउनुपर्छ भन्ने मान्यता अधिकाँश सहकारीको हुन्छ । तर यो सहकारीले आफै भैसी पालन, गड्यौले मल उत्पादन र आफ्नै खेतमा विभिन्न कृषि बस्तु उत्पादन गरेर गतिलो उदाहरण पेश गरेको छ ।
कृषि पेशालाई आधुनिकरण गर्दै व्यवसायिक बनाउन कृषकहरुलाई उत्प्रेरणा दिइरहेको सहकारीले आफ्नै शेयर सदस्यको स्वास्थ्य सारथी बनेको छ । कृषि पेशामै पौरख गरिरहेका कृषकहरुको आफ्नो स्वास्थ्य अवस्था बारे थाहा पाइराख्न स्वास्थ्य शिविर नै सञ्चालन गरेको छ । संस्थामा आवद्ध दुई सय बढी महिलाहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।

सुर्खेत महिला स्वास्थ्य क्लीनिकसँगको प्राविधिक सहयोगमा संस्थाले स्त्री रोग विशेषज्ञ सेवा प्रदान गरेको छ । डा. खीमा न्यौपाने र डा. दीपा शाहीले संस्थामा आवद्ध महिलाहरुको स्वास्थ्य परीक्षण गरेका हुन् ।
‘कृषि पेशामा होमिएर पौरख गर्ने सदस्यहरुको स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्ने उदेश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको हो,’ संस्थाका बरिष्ठ सहायक उत्तम लामिछाने भन्छन्, ‘प्रायः खेतवारीमै मेहनत गरिराख्नु भएका सदस्यहरुलाई आफ्नो स्वास्थ्य अवस्था कस्तो छ भनेर थाहा पाउन सहज होस् भनेर शिविर सञ्चालन गरेका हौं ।’
उनकाअनुसार संस्थामा आवद्ध सबै सदस्यहरुको स्वास्थ्य परीक्षणमा सहजताका लागि सुर्खेत महिला स्वास्थ्य क्लीनिकसँग सम्झौता नै गरिएको छ । क्लीनिकमा उपचार गर्न जाने सदस्यहरुले औषधीदेखि स्वास्थ्य परीक्षणमा छुट दिइने व्यवस्था छ ।
नेपाल कर्म । १५ असार २०८२, आईतवार २०:४४