पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो


सुर्खेत । पहिरो खसेर अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी सुचारु भएको छ । वर्षाका कारणले कर्णाली राजमार्ग अन्र्तगत कालीकोटको शुभकालिका गाउँपालिका–१ को गगने खोला र जितेनजिक पहिरो पन्छाएपछि राजमार्ग खुलेको हो ।



सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रशासन कार्यालय कालीकोट, जिल्ला प्रहरी कार्यालय कालीकोटको पहलमा खाँडाचक्र नगरपालिका–२ को जितेबजार, शुभकालिका गाउँपालिका–१ को गगने खोलामा पहिरो पन्छाएपछि सडक दिउँसोबाट एकतर्फी सुचारु भएको छ ।

पहिरो पन्छाएपछि राजमार्ग खुलेको र यात्रु गन्तब्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी टेकबहादुर रावतले जानकारी दिए । ‘पहिरो केही छिनमै खुलेको भए पनि साँघुरो सडकका कारणले दोहोरो गाडी पास गराउँदा समय लाग्ने गरेको छ,’ उनले भने,‘अहिले सडक सञ्चालनमा आएको छ । अहिले पनि त्यहाँ डोजर लगाएर फराकिलो पार्ने काम भइरहेको छ ।’

सडक अवरुद्ध हुँदा कालीकोट सदरमुकाम मान्म, जुम्ला, मुगुबाट सुर्खेतका लागि छुटेका यातायात बन्द हुँदा यात्रुले सास्ती पाएका थिए । सोमबार बिहानदेखि सडक अवरुद्ध भएको थियो ।

स्थानीय सरकारले राजमार्ग जोड्न खनेका सहायक सडकका कारणले राजमार्गमा पहिरो आउने गरेको छ ।

तपाईको प्रतिक्रिया