पहिरोले कर्णाली राजमार्ग अवरुद्ध


कालिकोट । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक अन्तर्गत कालिकोटको गगने खोलामा पहिरो खस्दा सोमबार बिहानदेखि सडक अवरुद्ध भएको छ ।



आइतबार बेलुकीदेखिको वर्षाले गगने खोलामा गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको कालीकोटका प्रहरी प्रमुख डिएसपी टेक बहादुर रावतले बताए ।

रातिदेखि अत्यधिक वर्षा भएकोले गगने खोलामा पहिरो खसेको छ । उनले भने, ‘गाडी चल्न सक्ने अवस्था छैन ।’ उनका अनुसार पहिरो पन्छाउन कर्णाली करिडोर सुरु हुने खुलालु जिरो पोइन्टमा खसेका ढुङ्गा पन्छाएर जेसीभी गगने खोलाको पहिरो हटाउन पठाइएको छ ।

पहिरो बगिरहेकोले काम गर्न पनि कठिन भएको प्रजिअ नारायण प्रसाद भट्टराईले बताए । ‘सडक डिभिजन जुम्लाले मेसिन पठाएको छ,’ उनले भने, ‘सानोतिनो पहिरो पन्छाउदै मेसिन ठूलो पहिरो गएको ठाउँमा पुगिसकेकाले पानी रोकिए दिउँसोसम्म एकतर्फी सडक सुचारु गर्न सकिएला ।’

सडक अवरुद्ध हुँदा कालिकोट, जुम्ला मुगु, बाजुरा, हुम्लाबाट सुर्खेत जाने र त्यताबाट माथितिर आउने गाडी रोकिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया