दैलेखमा ७३ हजार पशुमा ‘लम्पी स्किन’

दैलेख । दैलेखमा करिब ७३ हजार पशुमा ‘लम्पी स्किन’ रोग देखिएको छ।  ‘लम्पी स्किन’ रोगका कारण हालसम्म दैलेखमा करिब ४३५ पशु परेका छन्।



विशेष गरी गोरुमा ‘लम्पी स्किन’ रोग देखिने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख भीमबहादुर विष्टले बताए। उनले हालसम्म दैलेखका ११ वटा स्थानीय तहका ९० वडामा करिब ७३ हजार पशुमा ‘लम्पी स्किन’ रोग देखा परेको जानकारी दिए।

विष्ट भने ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि काम भइरहेको बताउँछन्। ‘पशुमा ‘लम्पी स्किन’ फैलिएपछि कार्यालयले औषधि खरिद गरी स्थानीय तहमा पठाएको छ। सचेतनाका कार्यक्रम सञ्चालन गरेका छौँ। टोलटोलमा पशु प्राविधिक खटाएर रोग नियन्त्रणतर्फ लागेका छन्।’

पशु सेवा कार्यालय दैलेखमा हालसम्म प्राप्त जानकारीअनुसार दैलेखमा करिब ४३५ पशु मरेका छन्।

पशुमा ‘लम्पी स्किन’ रोग महामारीका रूपमा फैलन थाले पनि सम्बन्धित निकायले चासो नदिएको किसानको गुनासो छ। बर्खाको समयमा गोरु मर्न थालेपछि खेती लगाउन किसानलाई समस्या हुने गरेको छ।

तपाईको प्रतिक्रिया