चन्दननाथ मन्दिरको दानपेटिका फोडेर भेटी चोर्ने पक्राउ



जुम्ला । कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा राखिएको दानपेटिका फोडेर भेटी चोर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले शनिबार साँझ जुम्लाको चन्दननाथ नगरपालिका–१० निवासी २७ वर्षीय वीरजित कामीलाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिनबाबु रेग्मीका अनुसार, कामीले गत बिहीबार दिउँसो करिब २ः४० बजे मन्दिरको दानपेटिका फोडी नगद भेटी चोरेका थिए । चोरीको घटनापछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो ।

मन्दिरमा जडान गरिएको सीसीटीभी फुटेजले अनुसन्धानमा महत्त्वपूर्ण सहयोग पुगेको डीएसपी रेग्मीले बताए । ‘दानपेटिका फोडेको दृश्य सीसीटीभी फुटेजमा स्पष्ट देखिएपछि अभियुक्तको पहिचान गरी पक्राउ गर्न सफल भयौं,’ उनले भने ।

पक्राउ परेका कामी मजदुरी पेसामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनापछि चन्दननाथ मन्दिरको सुरक्षा व्यवस्था थप कडा पारिएको प्रहरीले जनाएको छ । डीएसपी रेग्मीले भने, ‘मन्दिरको सुरक्षालाई ध्यानमा राख्दै अब प्रहरी हवल्दारको नेतृत्वमा एक सुरक्षा टोली खटाइएको छ ।’

पक्राउ परेका कामीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया