
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको आर्थिक समृद्धिको बलियो आधार कृषि भएको बताएका छन् । आइतबार सुर्खेतको वीरेन्द्रनगरमा अखिल नेपाल किसान महासङ्घ जिल्ला कमिटी सुर्खेतले आयोजना गरेको २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन् ।
कृषिमा आत्मनिर्भर बन्ने बाटो रोज्नुपर्ने र त्यसका लागि परम्परागत प्रणालीलाई परिमार्जन गरी आधुनिक, वैज्ञानिक र व्यावसायिक कृषि प्रणालीको अवलम्बन गर्न सके अहिलेको अवस्था बदल्न सकिने मुख्यमन्त्री कँडेलले बताए । ‘कृषिलाई जीविकोपार्जनको माध्यम मात्र नभई आम्दानी र रोजगारीको स्थायी स्रोतका रूपमा कृषि पेशालाई विकास गर्नुपर्छ,’ उनले भने, ‘हामी कृषिमा आत्मनिर्भर बन्न सक्छौं, तर त्यसका लागि सरकार, किसान, प्राविधिक, निजी क्षेत्र र समुदाय सबैको साझा प्रयास आवश्यक छ । खेतीपातीलाई अब जीविकोपार्जनको भर होइन, व्यवसायको मुख्य माध्यम बनाउँदै लैजानुपर्छ ।’

मुख्यमन्त्री कँडेलले कर्णालीको भौगोलिक अवस्थाले पनि विशिष्ट कृषि उत्पादनका लागि सम्भावना बोकेको उल्लेख गर्दै त्यसको वैज्ञानिक व्यवस्थापन गर्न सके कृषि क्षेत्रबाट नै रोजगारी, उत्पादन र आम्दानी बढाउन सकिने बताए । ‘कृषक पञ्जिकरण, कृषि सहुलियत ऋण, गुणस्तरीय बीउ र मलको वितरण, तालिम तथा सिँचाइ पूर्वाधारको विस्तारमा प्रदेश सरकारले विशेष प्राथमिकता दिएको छ,’ उनले भने,‘कृषि क्षेत्रको विकासले मात्रै देश समुन्नतीतिर जान्छ ।’


नेपाल कर्म । १५ असार २०८२, आईतवार १४:४८