सुर्खेत । भुसको आगोसरी फैलिदै गएको लागु औषधको जालो तोड्न दैलेख प्रहरीले सक्रियता देखाएको छ । यहीँ असार ६ गतेबाट थालनी गरिएको लागु औषध दुव्र्यसनी र ओसारपोसार गर्न प्रहरीले पछिल्लो एक सातामा जिल्लाका विभिन्न विद्यालयमा पुगेर सचेतनामूलक गतिविधिहरु गरेको हो ।
स्कुल र क्याम्पसमा पढ्दै गरेको विद्यार्थी तथा अभिभावकहरु लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेश बरालले जानकारी दिए । ‘प्रहरी एक्लैको प्रयासमा यो अभियानलाई सार्थकता दिन सकिदैन्,’ बराल भन्छन्, ‘नागरिकसहितको सहभागीमा लागू औषधको बढीरहेको सञ्जाल तोड्ने सबैसँग हातेमालो गरेर विभिन्न अभियान सञ्चालन गरेर समापन गरेका छौं ।’


अभियान अन्तरगत जिल्लाका विभिन्न स्थानमा पर्चा पम्प्लेट वितरण र सार्वजनिक ठाउँमा होर्डिङ बोर्ड राखिएको छ । औषधी व्यवसायी र होटल व्यवसायी संघसँगसमेत यो विषयमा अन्तरक्रिया र लागु तथा मनोदिपक औषधीको विक्रि वितरणमा अनुगमन नियन्त्रण तथा व्यवस्थापन विषयमा छलफल गरिएको छ ।
लागुऔषध दुव्र्यसनमुक्त समाज निर्माणको लागि युवा र समाजको भूमिका विषय वक्तृत्वकला कार्याक्रम सञ्चालन असार ११ गते सञ्चालन गरिएको छ । वक्तृत्वकलामा उत्कृष्ट चार जनालाई पुरस्कृत गरिएको छ ।
कक्षा ९ र १० का लक्षित किशोर किशोरी विद्यार्थी समुहहरुलाई लागुऔषध दुव्र्यसनका असर तथा बेफाईदा र यसबाट जोगिन ध्यान दिनुपर्ने विषयको बारेमा जानकारी प्रदान गरिएको छ ।
सप्ताहव्यापी कार्यक्रमको समापनमा सरोकारवालाहरुले लागुऔषध दुर्व्यसनी तथा कारोबार रोकथाम गर्न प्रहरीसँगै हातेमालो गर्ने प्रतिवद्धता जनाएका छन् । लागुपदार्थ दुर्व्यसनी नियन्त्रण गर्न सबैभन्दा महत्वपुर्ण भुमिका अभिभावकहरुको रहेकाले सचेतन हुन आवश्यक रहेको प्रहरी प्रमुख बराल बताउँछन् ।


‘अभिभावकहरुले आफ्ना छोराछोरीको दैनिक क्रियाकलापको निगरानी गर्ने, छोराछोरी कहाँ जान्छन्, के गर्छन्, के खान्छन्, कतिबजे घरमा आउछन्, पकेट खर्च भनि के का लागी खर्च गर्छन् भन्ने विषयमा निगरानी गर्न जरुरी छ,’ बरालले भने, ‘साथै, स्वास्थ्य अवस्था, बानी व्यहोरा के कस्तो छ, कतै परिवर्तन त भएको छैन भन्ने कुराहरुमा अभिभावकले बिशेष ध्यान पुर्याउनु भयो भने दुर्व्यसनीको जालो अन्त्य गर्न सकिन्छ ।’
लागुपदार्थ सेवन गरेको थाहा पाएमा जोसुकैले प्रहरीलाई सुचना दिन उनको आग्रह छ । लक्षित समुह बिशेष गरी स्कुल क्याम्पसका युवाहरुलाई नियमित सचेतनामुलक कक्षा संचालन गर्ने, अभिभावकहरुलाई ध्यानाकर्षण गराउने र लागुपदार्थ दुव्र्यसनी तथा कारोबारमा संलग्नको निगरानी गर्दै चेकजाँच खोजी जस्ता गतिविधि प्रहरीले नियमित गरिरहेको उनले बताए ।
गाँजा,अफिम खेती गर्नेलाई कारबाही गर्ने, राजमार्ग र सवारीसाधन लक्षित कडा चेकजाँचको व्यबस्था मिलाउने, प्रविधियुक्त चेकजाँच, लागुपदार्थ सेवनकर्ता पत्ता लगाउने किटको व्यवस्था मिलाई कार्यान्वनमा ल्याउने प्रतिवद्धता पाएको प्रहरीले जनाएको छ ।

नेपाल कर्म । १३ असार २०८२, शुक्रबार ०८:३६