दशैं अगावै कोहलपुर–सुर्खेत १३२ केभी विद्युतको काम सक्न हितेन्द्रको निर्देशन

सुर्खेत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोहलपुर सुर्खेतको १३२ केभी प्रसारण लाइन छिटो सक्न निर्देशन दिएका छन् । विद्युतको अवस्था बुझ्न निरीक्षणका लागि सुर्खेत आएका शाक्यले १३२ केभी प्रसारण चाडो सक्न मातहतका कर्मचारीलाई दिर्नेशन दिएका हुन् ।



कर्णाली प्रदेशमा नियमित विद्युत अबरोध हुने र समस्या रहेको यसको समधानका उपाय भनेकै कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन रहेको उनले जानकारी दिए ।

१३२ केभी प्रसारण लाइनको निर्माणमा बाँकेको बानियाभार क्षेत्रमा स्थानीयले अवरोध गर्दै आएका छन् । यो क्षेत्रमा तीन वटा टावर निर्माण सकिएपछि १३२ केभीको प्रसारण लाइन सुर्खेतस्थित सुब्बाकुना सवस्टेशनमा जोडिनेछ । स्थानीयले अवरोध गर्नुको कारणसहित बुझेर सुर्खेत पुगेका शाक्यले भने, ‘स्थानीयका समस्या के छन् । त्यसको समधान गर्ने र कर्णालीमा नियमित विद्युत् पु¥याउन छलफल गरेको छु । समाधानका लागि प्रयास सकारात्मक छन् ।’

जिल्ला प्रशासन कार्यालय बाँकेको प्रमुख जिल्ला अधिकारीसहित शाक्यले स्थानीय राजनीतिक दलका नेतृत्वहरुसँग बाँकेमा छलफल गरेको जानकारी दिए । ‘सचिवज्यू पनि आउनु भएको थियो । बानियाँभार बाहेक एक दुई ठाउँमा पनि प्राविधिक समस्या रहेको देखियो,’ उनले भने, ‘त्यो पनि समस्या समधान गर्नका लागि निर्देशन दिएका छौं ।’

उनले दशैंसम्म यहाँको बत्ति नियमित हुने र पुरै कर्णालीलाई पनि विश्वनिय विद्युत पु¥याउन आफू लागिरहेको बताए । ‘सुर्खेतबाट दैलेख–कालिकोट हुँदै जुम्लासम्म छिटो विद्युत पु¥याउँछु भन्ने लागेको छ,’ उनले भने, ‘२०६७ सालमा मैले यहाँ काम गरेर गएको थिए । मुगुको गमगढीमा उज्यालो पु¥याएको थिए । ग्रिडकै बिजुली गमगढी पु¥याउँछु भन्नेगरी काम अघि बढेको छ ।’

कुनै पनि काम विस्तारै हुँदै जाने र एउटाले बाटो छिचोल्नुपर्ने उनले बताए । डोल्पामा उत्पादन गर्न लागिएको जगदुल्लाको विद्युतलाई रिम्नाहुँदै लमहीमा जोड्ने गरी काम थालिएको जानकारी दिए । उनले त्यो केही समय लाग्ने र त्योभन्दा पहिले कोहलपुरबाट कर्णालीका जिल्लाहरुमा विद्युत विस्तार गरिनेछ बताए ।

एउटा हाइड्रो पावर बन्नका लागि ६ देखि ७ वर्ष लाग्ने र त्यतिबेलासम्म कर्णालीका सबै ठाउँमा विद्युत सेवा पुगिसक्ने विश्वास उनको छ । झण्डै साढे तीन वर्ष अघि अर्थात् २३ असार २०७८ मै सुब्बाकुना सवस्टेशनमा विद्युत चार्ज गर्ने लक्ष्यका साथ १३२ केभी काेहलपुर-सुर्खेत विद्युतकाे प्रसारण लाइनकाे काम थालिएकाे थियाे ।

कहिले निकुञ्जको अल्झन त कहिले प्रशारण लाइनले छुने क्षेत्र बाँकेको गाभर र बानियाभारमा स्थानीयले अवरोह गर्दा अपेक्षाकृत निर्माणले गति लिन सकेको छैन् । बाँकेको बैजनाथ गाउँपालिका बानियाभार क्षेत्रमा तीन (हाइटेन्सन) टावर निर्माणमा स्थानीयले अवरोध गरिरहेका छन्।

अदालतबाट मुद्दा किनारा लागेपनि चलनचल्तीकै मुआब्जा प्रभावित क्षेत्रका नागरिकलाई दावी गरिरहेका छन् । विद्युतको प्रसारण लाइन मुनीको दायाँ बायाँ नौ-नौ मिटर जग्गा अधिग्रहण गर्नुपर्नेहुन्छ ।

टावर निर्माण गरिएको प्रभावित क्षेत्रमा जग्गाको मुल्य २५, २८ र ३२ लाख निर्धारण गरिएको छ । बाँकेको कोहलपुरबाट शुरु भएर सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सवस्टेसनसम्मको प्रसारण लाइनको दुरी ५२ किलोमिटर छ । कोहलपुर–सुर्खेतसम्म १६१ ओटा टावर निर्माण गर्नुपर्नेछ । विवाद देखिएकाे ठाउँ बाहेक अन्य अधिकाँश क्षेत्रकाे काम सकिएकाे छ ।

प्रसारण लाइनको झण्डै १४ किलोमिटर हर्रे–बबई–चिसापानी क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज पर्छ । निकुञ्ज क्षेत्रमा टावर निर्माणकाे सकिने चरणमा छ । विवाद देखिएको क्षेत्र गाभरमा टावर निर्माण लागि स्थानीय प्रशासनको सहयोगमा सहजिकरणको प्रयास भइरहेको आयोजना प्रमुख रवि चौधरीले जानकारी दिए ।

७० करोड लागत रहेको आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग २२ असार २०७६ मा सम्झौता गरिएको हो । स्व. राजा वीरेन्द्रको ठाडो आदेशमा २०४५ सालमा नेपाल विद्युत प्राधिकरणले सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा विद्युत लाइन विस्तार गरेका थिए ।

३६ वर्ष पहिला निर्माण गरेको पुरानै विद्युतका संरचनाले सुर्खेत मात्रै हैन विद्युत विस्तार भएका जिल्लाका नागरिकहरुले लो भोल्टेजको समस्या झेलिरहेका छन् ।

तपाईको प्रतिक्रिया