सुर्खेत । परिवारको आर्थिक समृद्धिका लागि विदेश हानिएका सुर्खेतका गोविन्द वली पुनः नेपाल फर्किएर कृषिमा होमिए । गुर्भाकोट नगरपालिका–१३ ढोडेनी सुर्खेतका वली रोजगारीका लागि मलेसियासम्म पुगे । विदेशमा गरिने परिश्रम आफ्नै भूमीमा लगाए राम्रो गर्न सकिने सपना देखेर स्वदेश फर्किए ।
उनले ढोडेनीमा व्यवसायीक रुपमा तरकारी खेतीको शुरुवात गरे । वलीले विदेश जाँदा वेचेको बारीमध्य बचेको थोरै जमिनमा तरकारी खेती थालेका थिए । विस्तारै व्यवसाय राम्रो बन्दै गएपछि विगतमा विक्री गरेको जमिनसमेत मुनाफाबाट पुनः किने । अनी उनको कृषि कर्म व्यवसायिकतामा जोडियो । तरकारी खेती, पशुपालन गरिरहेका तिनै वली अन्तत राष्ट्रि कृषक पुरस्कारबाट सम्मानित भएका छन् ।


कृषि तथा पशुपन्छी विकास मनत्रालयद्धारा राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी पुरस्कार प्रदान गरिरहँदा सुर्खेतका वलीपनि एक हुन् ।
उनीसहित कर्णालीबाट पुरस्कृत हुनेमा सल्यान बागचौर नगरपालिका–८ का भरतनाथ योगीसमेत छन् । सुन्तला खेतीमा राम्रो व्यवसाय गरिरहेका योगी पनि पुरस्कृत भएक हुन् । पुरस्कृत कृषकलाई जनही दुई लाख रुपैयाँ प्रदान गरिएको छ ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहान गर्नुपर्ने उल्लेख गरे ।
उत्कृष्ट कृषकको रुपमा छानिएर पुरस्कृतिहुँदा कृषि पेशालाई थप व्यवस्थित बनाउने हौसला मिलेको प्रतिक्रिया वलीले दिए । ‘कृषिमा लामो समयदेखि पौरख गरिरहेको थिए, श्रमको सम्मान नि गरिदो रहेछ,’ वलीले भने, ‘योगदानको उच्च मूल्यांकन हुने ऐतिहासिक अवसर पाउँदा खुसी छु ।’

नेपाल कर्म । ११ असार २०८२, बुधबार ०८:२५