सुर्खेत । गुराँस गाउँपालिका दैलेखले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि बजेट सार्वजनिक गरेको छ । ७३ करोड ६१ लाख ४४ हजार ९५५ रुपैयाँको बजेट गाउँपालिकाका उपाध्यक्ष शिवाकुमारी खड्काले सार्वजनिक गरेकी हुन् ।

बजेटले मुख्यगरी समृद्ध, समुन्नत, प्रविधिमैत्री र पर्यटनमैत्री गाउँपालिकाको निर्माण गर्ने सोच र आर्थिक, भौतिक, सूचना प्रविधि र पर्यटन पूर्वाधार विकास गर्दै समृद्ध, समुन्नत र आत्मनिर्भर गाउँपालिकाको निर्माण गर्ने लक्ष्य लिएको खड्काले बताइन् ।
किसानको हक हित संरक्षण संबर्द्धन गर्दै कृषिको उत्पादन र उत्पादकत्व बढाउन भुउपयोग नीतिको अवलम्बन गरी कृषिको व्यवसायीकरण विविधिकरण र बजारीकरण गरी कृषकको अवस्था समुन्नत र पेशा सम्मानजनक बनाउने र आर्थिक क्षेत्रका सबै गतिविधिमा स्वच्छता जवाफदेहीता र प्रतिस्पर्धाको प्रबर्द्धन गर्नेगरी बजेट विनियोजन गरिएको खड्काले जानकारी दिइन् ।

विकासका गतिविधिमा गुराँसका जनताको श्रम सीप र स्थानीय स्रोत साधनको अधिकतम परिचालन गर्ने र स्वास्थ्यमा पूर्ण खोप सुनिश्चितता घरदैलो सेवा सुलभ र सुरक्षित मातृत्व सेवा लगायतको कार्यक्रम मार्फत समग्र गुराँसका जनतामा आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउने उदेश्य बजेटले राखेको छ ।

गाउँपालिकाका सामाजिक साँस्कृतिक धार्मिक सम्पदा र असल संस्कारको संरक्षण र प्रबर्द्धनमार्फत् धार्मिक साँस्कृतिक पर्यटनको विकास गर्ने र गरिबीको अन्त्य र पीछडिएको क्षेत्र वर्ग र समुदायको उत्थान गर्न बजेट विनियोजन गरिएको खड्काले बताइन् ।
शिक्षालाई वैज्ञानिक व्यवहारिक तथा प्रविधिमैत्री बनाई सक्षम जनशक्ति निर्माणको आधार तयार गर्ने, विधिको शासन सार्वजनिक सेवालाई प्रभावकारी जवाफदेही जनमुखी छिटो छरितो र कम लागतमा उपलब्ध गराउनेगरी बजेट विनियोजन गरिएको छ ।
यस्तै, सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो बनाउन गुराँस गाउपालिकाका आठै वडालाई सूचना प्रविधिको गुणस्तरीय पहुँचयुक्त बनाउने र आकस्मिक रुपमा आइपर्ने संकट विपद र प्रकोप व्यवस्थापनको लागि पूर्वतयारी गर्ने र राहत तथा पुनर्स्थापनाको लागि पालिकालाई सक्षम बनाउने उदेश्य बजेटको छ ।

नेपाल कर्म । १० असार २०८२, मंगलवार १९:०४