
सुर्खेत । कर्णाली प्रदेशसभाको बैठकमा प्रतिपक्ष दलका सांसदहरु उपस्थित नभएपछि प्रदेशसभाको बैठक स्थगित गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीका सांसद उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।

प्रदेशसभाका सभामुख नन्दा गुरुङले सभा सञ्चालन सुरु गरेपछि सत्ता पक्षका नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सभा सञ्चालनका लागि प्रतिपक्ष दल हुनुपर्ने प्रचलन भएको बताए । ‘अहिले प्रतिपक्ष दलका कुनै सांसद हुनुहुन्न,’ उनले भने,‘बरु ३०, ४० मिनेट कुरेर भएपनि उहाँहरु ल्याउ अनि सभा गरौं ।’ भन्ने प्रस्ताव गरेका थिए ।
त्यस लगत्तै सभामुख गुरुङले आधा घण्टाका लागि बैठक स्थगित गरेकी हुन् ।


प्रतिपक्ष दलहरुले कर्णाली प्रदेश सरकारले ल्याएको योजना बजेटमाथि असहमति जनाउदै आएको छ । उनीहरुले बिधि बिधान बाहिर सत्तापक्षले आफ्ना पोस्ने नागरिकको हित विपरित बजेट ल्याएको बताउँदै आएको छ ।
नेपाल कर्म । ५ असार २०८२, बिहीबार १६:५६