जलस्रोतको बजेट ३ अर्ब ८३ करोड : बुलबुले–काँक्रेविहार–जलविहारदेखि एकघर एक धारा अभियान

सुर्खेत । जलस्रोत तथा उर्जा विकास मन्त्रालयले आर्थिक वर्षमा तीन अर्व ८३ करोड बजेट पाएको छ । बजेटमा बुलबुले–काँक्रेविहार जलविहारदेखि नागरिकको आधारभूत तथा स्वच्छ खानेपानी माथिको पहुँच सुनिनिश्चितसँगै एक घर एक धारा अभियानलाई सार्थकता दिने उल्लेख छ ।




खानेपानीका मुहान, ढुङ्गेधारा, ताल तथा पोखरी, नदी नाला एवम् जलाधार क्षेत्र र स्रोतको पहिचान तथा संरक्षण कार्यलाई आगामी वर्षमासमेत निरन्तरता दिइएको छ । सुरक्षित तथा स्वच्छ पिउने पानी उपलब्ध गराउन सञ्चालित खानेपानी प्रणालीको गुणस्तर सुधार, सुदृढीकरण तथा स्तरोन्नति कार्यक्रम यथावत छ ।

संघ र स्थानीय तहसँगको सहकार्यमा एक घर एक धारा अभियानलाई आगामी वर्षमा पनि निरन्तरता दिइएको छ । प्रदेश राजधानी संरक्षण आयोजना अन्तर्गत सुर्खेतको बुलबुलेदेखि निकास खोलासम्मको जलविहारसहितको बहुउद्देश्यीय परियोजना कार्यान्वयन गर्न बजेटले सम्बोन्धन गरेको छ ।

बुलबुले काँक्रेविहार खण्डको निर्माण कार्य आगामी आर्थिक वर्षदेखि प्रारम्भ गर्न ८ करोड ६१ लाख बजेट छुट्टाइएको छ । सहलगानीमा सञ्चालनरत वीरेन्द्रनगर नगरपालिकाको भेरी लिफिटङ र शारदा नगरपालिकाको जर्खु लिफ्टिङ आयोजनाको निर्माणलाई निरन्तरता दिन २४ करोड बजेट विनियोजन गरिएको छ ।

दैलेख जिल्लाको बारतडी खानेपानी बहुउद्देश्यीय आयोजना तथा सल्यानको बनगाड कुपिण्डे बृहत खानेपानी आयोजना कार्यान्वयनलाई निरन्तरता दिएको छ ।

अदानचुली वृहत खानेपानी योजना, मुलखोला थरा, कुपिण्डे पारीगाउँ काउचे लिफ्ट खानेपानी योजनाको निर्माण कार्य अगाडि बढाइने छ । यी आयोजनाहरू सञ्चालनका लागि १७ करोड ३६ लाख विनियोजन गरिएको छ ।

सल्यान, रुकुम पश्चिम र मुगु जिल्लामा प्रथम चरणका लागि जलवायु उत्थानशील भू–परिधि तथा जीविकोपार्जन परियोजना सञ्चालन गरिनेछ । जलवायु अनुकूलित खानेपानी आयोजना सञ्चालन गर्न ६ करोड ५९ लाख बजेट छुट्टाइएको छ ।

चौकुने गाउँपालिकामा निर्माणाधीन जुम्ल्यामूल ताल बहुउद्देश्यीय आयोजना सञ्चालन गर्न ७ करोड ५० लाख रहेको छ । यो आयोजनामार्फत खानेपानी, सिँचाइ, पर्यावरण र पर्यटनको एकीकृत विकास गर्ने लक्ष्य मन्त्रालयको छ ।

जल उत्पन्न प्रकोप नियन्त्रण गरी जोखिमयुक्त बस्तीहरू संरक्षणका लागि कर्णाली प्रदेश जनता तटबन्धन लगायतका कार्यक्रम आगामी वर्षमा सञ्चालन गर्न यथावत रादिएको छ ।

तपाईको प्रतिक्रिया