११ अर्ब बजेट पाएको भौतिकको लक्ष्य अन्तर प्रदेश जोड्ने सडक निर्माणमा जोड

सुर्खेत । आर्थिक वर्ष २०८२-०८३ को बजेटले कर्णाली प्रदेशबाट अन्य प्रदेश जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । कर्णाली प्रदेशबाट सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने रणनीतिक महत्वका नौ सडकलाई सरकारले बजेटमा समेटेको हो ।



कैलाली र सुर्खेत जाेड्ने कुइनेस्थित कर्णाली नदीमा बनेकाे पक्की पुल ।

यीमध्य चार सडक कर्णालीबाट सुदूरपश्चिम र चार सडक लुम्बिनी प्रदेशसँग सिधा जोडिन्छन् । प्रदेश राजधानी वीरेन्द्रनगरको मुलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडक, सल्यान खलङ्गा–कालिमाटी–घुईयावारी–काप्रेचौर–खर्कवार–कोहलपुर सडक, तालीदेखि रूप पाटनहुँदै खार्वाङ पूर्वी रूकुम पोखरा जोड्ने सडक र छिनखेत–पूर्वी रूकुम सडक लुम्बिनीसँग जोडिन्छ ।

यस्तै, खुलालु–लालु–भेरीसाँगु–कुमालगाउँ–एअरपोर्ट–मेहल्मुडी–मुर्मा–रास्कोट–लैफु सडक, गमगढी–सेरी–सुकाढिक सडक, बाजुरा–कुवाडी–ताजाकोट–अदानचुली–सर्केगाड सडक र कुइने–जामु–बाबियाचौर–भक्तरी–जंगलघाट सुदूरपश्चिम प्रदेशमा जोड्ने रणनीतिक महत्वका सडक हुन् ।

हुम्ला कर्णाली र मुगु कर्णाली नदी दोमुख–गमगढी–नाक्चेलाग्ना सडकलाईसमेत सरकारले बजेटमा समेटेको छ । यी सडक निर्माण तथा स्तरोन्नति कार्यका लागि आगामी वर्षमा ४९ करोड २४ लाख बजेट विनियोजन गरिएको छ ।

प्रदेशभित्रका पर्यटन पूर्वाधार प्रवद्र्धनसँग जोड्न ६ वटा सडकलाई बजेटले रणनीतिक महत्व दिएको छ । त्रिपुरा बगर छलहुँदै मौरेलेक सडक, पातिहाल्ना–परिलह–आँखेखोलाहुँदै शे–फोक्सुन्डो सडक, बालुवासंग्रही–कुपिण्डे सडक, ताल्चा–रारा सडक, हिल्सा–मानेपेमे–लिमी लाप्चा सडक, थलह–बाटुले–ब्याउलीढुङ्गा–जुम्ला सडक निर्माणका लागि २१ करोड २५ लाख विनियोजन गरिएको छ ।

प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनामा स्थानीय तहको केन्द्र जोड्ने प्रादेशिक सडक सञ्जालको स्तरोन्नति गर्न ८० करोड ५० लाख बजेट छुट्टाइएको छ । यी सडकहरुमा डुङ्गेश्वर–डाँडापराजुल सडक, गल्फागाड–थाडाँकाटे–अदानचुली सडक, महाबै गाउँपालिका कालीकोटको केन्द्र जोड्ने सडक, छार्काताङ्सोङ गाउँपालिका डोल्पाको केन्द्र जोड्ने सडक, लालिघाट–कोटवाडा–कुमालगाउ सडक, तारापानी–सोरुकोट सडक, जुम्ला खलङ्गा–लासी सडक, सलीसल्ला– पिप्लाङ् सडक, वडावन–सानाखोला सडक, गङ्गटे–आरन्टुडा–ढाँडखेत सडक र सुर्खेत रिङरोड सडक छन् ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजनामा निर्माणाधीन मोर्क–चङ्खिला–बडावन–सानाखोला सडक, दशरथपुर–डाँडागाउँ–जितेजुवा–ढाडखेत–मटेला–धरमपोखरा सडक, चौरजहारी–नार्जी–खोलागाँउ–चौथा–बैरागीठाँटी–मुसिकोट–सल्ले सडक र शितलपोखरी–झुल्खेत–चुनवाङ सडक आगामी वर्ष कालोपत्रे गरिनेछ । यी सडकको कुल बजेट ८१ करोड छ ।

प्रादेशिक लोकमार्ग, प्रादेशिक सडक तथा अन्य सडकहरू निर्माण, स्तरोन्नति तथा मर्मतसम्भार र्गन ४ अर्ब ३६ करोड विनियोजन गरिएको छ । यी सडक कालोपत्रे भएमा आर्थिक वर्ष २०८२-८३ मा थप १२० किलोमिटर पक्की सडक निर्माण हुने अपेक्षा सरकारको छ ।

प्रादेशिक लोकमार्ग तथा प्रादेशिक सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन सडक पुल निर्माणलाई उच्च प्राथमिकता दिएको छ । क्रमागत रूपमा रहेका आयोजनाहरूमा आगामी वर्ष १ अर्ब १५ करोड बजेटबाट थप २५ सडक पुलहरू सम्पन्न हुनेछन् ।

सार्वजनिक निजी साझेदारीमा निर्माण तथा सञ्चालन गर्नेगरी प्रदेशभित्रका सम्भाव्य स्थानहरूमा द्रूतमार्ग, सुरुङमार्ग, केबलकार, रोपवे, पोडवे, रज्जुमार्ग र जलयातायातको पूर्व सम्भाव्यता अध्ययन गर्न बजेटको व्यवस्था गरिएको छ ।

विकट र दुर्गम स्थानका जनताको सेवा प्राप्तिको पहुँचलाई सहज बनाउन संघ र स्थानीय तहसँग सहकार्य गरेर आधा घण्टाको हिँडाइ दुरीभित्र सुविधा पु¥याउन झोलुङ्गे पुल निर्माणलाई सरकारले प्राथमिकता दिएको छ ।

कर्णालीमा रहेका तुइनहरु आगामी आर्थिक वर्षभित्र प्रतिस्थापन गर्न ७५ वटा झोलुङ्गे पुल निर्माण र पुराना झोलुङ्गे पुलको मर्मत सम्भार गर्न ३७ करोड ८५ लाख छ ।

हुम्लाको सदरमुकाम सिमकोटलाई मानसरोवर कैलाश प्रवेशद्वारका रूपमा विकास गरी पर्यटन प्रवर्द्धन गर्न खार्पु–सिमकोट नमुना एकीकृत पर्यटन पूर्वाधार विकास र शे– फोक्सुण्डो ताल किनारमा रहेको प्राचीन रिङ्बो बस्तीलाई बौद्घ कला र संस्कृतिको अनुपम बस्तीको रूपमा रूपान्तरण गर्न ३४ करोड ५० लाख बजेट छुट्टाइएको छ ।

छरिएर रहेका तथा विकट र जोखिमयुक्त बस्ती व्यवस्थापन एवम् गरिब, विपन्न, दलित, आवासविहीन, लोपोन्मुख र सीमान्तकृत समुदाय लक्षित एकीकृत बस्ती विकास, जनता आवास र विपन्नको घर कार्यक्रमको लागि २० करोड ६० लाख विनियोजन गरिएको छ ।

भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लाका सामुदायिक विद्यालय तथा सरकारी स्वास्थ्य केन्द्रहरूको पुनःनिर्माण गर्न ४२ करोड १० लाख बजेट विनियोजित छ । भाैतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयकाे कुल बजेट १ १ अर्ब एक कराेड छ ।

तपाईको प्रतिक्रिया