रगत: जीवनको आधार, इतिहासदेखि कर्णालीको वर्तमानसम्म

" बढ्दो माग, पुरानै पूर्वाधार: स्तरोन्नति खोज्दै कर्णालीको रक्तसञ्चार सेवा " 

“रगत” मानव शरीरको जीवन्त तरल, रगत, एक यस्तो अमूल्य तत्व हो जसको कुनै कृत्रिम विकल्प आजसम्म बन्न सकेको छैन । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सारेर जीवन बचाउने एक मात्र माध्यम हो ।



सन् १९०१ मा डा. कार्ल लेण्डस्टेनरले मानव रगतमा A, B र O रक्त समूह पत्ता लगाएर चिकित्सा विज्ञानमा क्रान्ति ल्याउनुभयो । पछि सन् १९४० मा उहाँले नै बाईनरसँग मिलेर आर.एच. (पोजिटिभ र नेगेटिभ) प्रणाली पत्ता लगाएपछि सुरक्षित रक्तसञ्चारको ढोका खुल्यो ।

विश्वव्यापी यी उपलब्धिहरूको पृष्ठभूमिमा नेपालको आफ्नै रक्तदानको गौरवपूर्ण इतिहास र वर्तमानका चुनौतीहरू रहेका छन् ।

नेपालमा रक्तदानको गौरवपूर्ण इतिहास

नेपालको पहिलो ऐतिहासिक रक्तदान: एक निःस्वार्थ सेवाको कथा

आजभन्दा करिब आठ दशकअघि, वि.सं. २००० सालतिरको कुरा हो । राणा प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा समाज जातपात र छुवाछुतजस्ता कुरीतिमा जकडिएको थियो । यस्तो कट्टर समाजमा रगत लिनु-दिनु कल्पना बाहिरको कुरा थियो । यही समयमा परोपकार संस्थाका संस्थापक दयावीरसिंह कंसाकार कामको सिलसिलामा वीर अस्पताल पुग्नुभयो ।

अस्पतालको प्राङ्गणमा एक अधबैँसे महिला आफ्नो एक्लो छोरा रत्नकाजी तुलाधरको जीवनको भीख माग्दै बिलौना गरिरहेकी थिइन्। छोरा रगत नपाएर मृत्युसँग लडिरहेको थियो, तर ‘रगत दिँदा मान्छे मरिन्छ’ भन्ने अन्धविश्वासले आमाले रगत दिन सकिरहेकी थिइनन् । यो कारुणिक दृश्य देखेर दयावीरको मन पग्लियो र उनी आफैँले रगत दिन तयार भए ।

त्यतिबेला न ब्लड बैंक थियो, न रगत भण्डारण गर्ने प्रविधि । बिरामीको उपचारमा संलग्न डाक्टरहरू समेत एक अपरिचित व्यक्तिले अर्को अपरिचितलाई रगत दिन तयार भएको देखेर अचम्मित भए । संयोगवश, दयावीर र रत्नकाजीको रक्त समूह मिल्यो । डाक्टरहरूले तत्काल दयावीरको शरीरबाट रगत निकालेर सिधै रत्नकाजीको शरीरमा चढाए र उनको ज्यान बच्यो । यही घटना नेपालको पहिलो ऐतिहासिक रक्तदान बन्न पुग्यो ।

अन्य अग्रणी रक्तदाताहरू:

  • तत्कालिन राजा महेन्द्र: वि.सं. २०२१ वैशाख २६ गते विश्व रेडक्रस दिवसको अवसरमा रक्तदान गरी यस कार्यलाई राष्ट्रिय महत्व दिनुभयो ।
  • तारादेवी तुलाधर: नेपालकी पहिलो महिला रक्तदाताको रूपमा चिनिनुहुन्छ ।
  • रामेश्वर प्रसाद श्रेष्ठ: पहिलो नेगेटिभ समूहका रक्तदाताको रूपमा उहाँको नाम लिइन्छ ।

रक्तसञ्चार सेवाको विकासक्रम

विश्वमा सन् १९३१ मा स्पेनको बार्सिलोनामा पहिलो ब्लड बैंक स्थापना भएको थियो । त्यसको करिब ३२ वर्षपछि वि.सं. २०२३ श्रावण १२ गते वीर अस्पतालमा “लक्ष्मी ब्लड बैंक” को नामबाट नेपालको पहिलो ब्लड बैंक स्थापना भयो । उक्त बैंकले पहिलो वर्ष १५७ युनिट रगत सङ्कलन गरी बिरामीलाई उपलब्ध गराएको थियो ।

सुरुमा नेपाल रेडक्रस सोसाइटीलाई मात्र रक्तसञ्चार सेवाको जिम्मा दिइएको थियो । तर, बढ्दो माग र आवश्यकतालाई मध्यनजर गर्दै सरकारले वि.सं. २०७१ मा राष्ट्रिय रक्तसञ्चार नीति जारी गर्‍यो । यसपछि नेपाल रेडक्रसका साथै अन्य संस्थाहरूले पनि निश्चित मापदण्ड पूरा गरी रक्तसञ्चार सेवा सञ्चालन गर्न पाउने बाटो खुल्यो ।

कर्णालीको यथार्थ: बढ्दो माग, उही पुरानो पूर्वाधार

देशभर रक्तसञ्चार केन्द्रहरू स्तरोन्नति भइरहँदा कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित रेडक्रसद्वारा सञ्चालित रक्तसञ्चार केन्द्र भने पुरानै अवस्थामा छ ।

वि.सं. २०५२ सालमा सुर्खेत जिल्ला अस्पतालको एउटा भवनबाट सुरु भएको यो केन्द्रले वार्षिक १५०-२०० युनिट रगत खपत गर्दथ्यो । अस्पताल मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्तरोन्नति भएपछि यो माग बढेर वार्षिक १ हजार युनिट पुग्यो । देश संघीयतामा गएर प्रदेश अस्पताल बनेपछि रगतको माग ह्वात्तै बढेको छ ।

वर्तमान अवस्था र चुनौतीहरू:

  • सेवामा सीमितता: केन्द्रले अहिलेसम्म केवल होल ब्लड” (Whole Blood) मात्र उपलब्ध गराउँछ । रगतका विभिन्न तत्वहरू (जस्तै: प्लाज्मा, प्लेटलेट्स) छुट्याउने आधुनिक प्रविधि छैन ।
  • अपर्याप्त जनशक्ति र उपकरण: एक प्राविधिक इन्चार्ज र दुई करारका प्राविधिक सहयोगीको भरमा केन्द्र चलेको छ । जम्मा १५० युनिट रगत भण्डारण गर्न सक्ने क्षमताका दुईवटा फ्रिज छन् ।
  • बढ्दो माग: प्रदेश अस्पतालको सेवा विस्तारसँगै रगत र रक्ततत्वको माग दिन प्रतिदिन बढ्दो छ, तर आपूर्ति र पूर्वाधार पुरानै छ ।

यसैबीच, प्रदेश अस्पतालले वि.सं. २०७९ जेठ ९ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको लागत साझेदारीमा आफ्नै रक्तसञ्चार केन्द्र स्थापना गरेको छ । यो केन्द्रले विशेषगरी रगतका तत्वहरू (Components) छुट्याउने काम गर्दै आएको छ, जसले रेडक्रसको पुरानो केन्द्रको सीमिततालाई केही हदसम्म पूर्ति गरेको छ ।

स्तरोन्नतिको प्रयास र सामाजिक सक्रियता

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेत, केन्द्रलाई प्रादेशिक स्तरमा स्तरोन्नति गर्न लागिपरेको छ । शाखाका सभापति तथा रेडक्रसका केन्द्रीय सदस्य रामलाल आचार्य भन्नुहुन्छ, “मैले केन्द्रीय समितिबाटै कर्णालीमा प्रादेशिक स्तरको रक्तसञ्चार केन्द्र खोल्ने निर्णय गराएको छु ।

हामीसँग भवन छ, तर आवश्यक उपकरण जुटाउन गाह्रो भएकोले स्वीस रेडक्रस लगायत विभिन्न दाताहरूलाई सहयोगका लागि अनुरोध गरेका छौं । हाम्रो प्रयासले छिट्टै सार्थकता पाउनेमा आशावादी छौं ।”

अर्कोतर्फ, सामाजिक अभियन्ताहरू पनि रगतको सहज उपलब्धताका लागि सक्रिय छन् । विगत २०५४ सालदेखि रक्तदानमा म सक्रिय भै नेपालका सर्वाधिक रक्तदाता प्रेमसागर कर्माचार्य (१८२औं पटक) अध्यक्ष रहनुभएको नेपाल स्वयंसेवी रक्तदाता समाजको वि.सं. २०७९ मा सुर्खेत शाखा गठन भएको छ ।

“कर्णालीमा रक्तदाता हुनुहुन्छ, तर उत्प्रेरणा कार्यक्रमको खाँचो छ । हामीले दानमा पाएको रगत बिरामीले निःशुल्क पाउनुपर्ने मागसहित वीरेन्द्रनगर नगरपालिकामा ज्ञापनपत्र बुझाए पनि सुनुवाइ भएको छैन् । “स्वास्थ्य नागरिकको मौलिक हक हो र रगत त्यसको मुख्य पाटो हो । तर, तीनै तहका सरकारको यसतर्फ ध्यान पुगेको छैन,”

निष्कर्ष

नेपालमा दयावीरसिंह कंसाकारले रोपेको निःस्वार्थ रक्तदानको बीउ आज विशाल वृक्ष बनेको छ, तर कर्णाली जस्ता क्षेत्रमा त्यसको हाँगाबिँगा अझै कमजोर छन् । बढ्दो स्वास्थ्य सेवा र रगतको मागलाई सम्बोधन गर्न सुर्खेतको रक्तसञ्चार केन्द्रको तत्काल स्तरोन्नति अपरिहार्य छ । यसका लागि सरकारी निकाय, नेपाल रेडक्रस र दाताहरूको समन्वयात्मक प्रयाससँगै स्वयंसेवी रक्तदाताहरूको अभियानलाई थप सशक्त बनाउनु आवश्यक छ । तब मात्र “रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस्” भन्ने नाराले सार्थकता पाउनेछ ।

स्मरण रहोस्, डा. कार्ल लेण्डस्टेनरको जन्मदिन, १४ जुनलाई सन् २००४ देखि विश्व स्वास्थ्य संगठनले विश्व रक्तदाता दिवसको रूपमा मनाउँदै आएको छ।  सन्दर्भः २२ औं विश्व रक्तदाता दिवस (१४ जुन २०२५)

लेखक : प्रवाश कुमार शाक्य, केन्द्रीय सदस्यः नेपाल स्वयंसेवी रक्तदाता समाज

तपाईको प्रतिक्रिया