बुलबुले तालकाे फेरिदै स्वरूप : मौलिक र कलात्मक बनाउन द्रुत गतिमा निर्माण

सुर्खेत । प्रमुख पर्यटकीयस्थल बुलबुले ताललाई मौलिक र कलात्मक बनाउन थालिएको छ । वीरेन्द्रनगर नगरपालिकाले यसअघि निर्माण गरिएको पानी पिउन र नुहाउन प्रयोग गरिने मुख्य तालको स्वरुप परिवर्तन गर्न लागेको हो ।



पुराना संरचना जीर्ण हुँदा वालबाट पानी चुहिने समस्याको समाधानका गर्न र यसको सौन्दर्य बढाउन पुराना धारा हटाएर नयाँ कलात्मक शैलीका मौलिक ढुङ्गेधार जडान गर्न थालेको नगर प्रमुख माेहनमाया ढकालले जानकारी दिइन् ।

उनकाअनुसार ३० लाख लागतमा ताल वरिपरीका जिर्ण पुराना संरचना भत्काएर स्थानीय पत्थर तथा मौलिक कलात्मक शैलीका ढुङ्गेधारा जडान गर्ने कार्य थालिएको छ ।

बुलबुलेको गुरुयोजनाअन्तर्गत तालको स्वरुप परिवर्तन गर्न लागिएको नगरपालिकाका सव–इन्जिनियर रामचन्द्र गौतमले बताए । गुरुयोजनाअनुसार अहिले नुहाउन प्रयोग गरिएका तालका धाराहरू प्लाजाका रूपमा स्थापना गरिने उल्लेख छ । तालको स्वरुप परिवर्तनसँगै अबदेखि बुलबुलेमा नुहाउन पाइने छैन ।

नगरपालिकाले बुलबुलेलाई व्यवस्थित गर्न गुरुयोजना अनुसारका व्यवस्थित संरचना निर्माणका कामहरू यसअघि नै बढाइ सकेको छ । सुर्खेत नगर विकास समितिले आर्थिक वर्ष २०७४/७५ बाट प्राथमिकताका साथ अघि बढाएको व्यवस्थित बुलबुले तालको योजनाअन्तर्गत दोस्रो चरणका संरचनाहरू निर्माण कार्यहरू भइरहेका छन् ।

साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न पुगेको छ । कर्णाली आउने हरेक पर्यटकको रोजाइँमा बुलबुले पनि पर्ने गरेको छ ।

सुर्खेत उपत्यका नगर विकास समितिका अनुसार गत वर्ष बुलबुले अवलोकन गर्न आउने पर्यटकबाट ९९ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । वर्ष बुलबुलेबाट एक करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।

शनिबारलगायत बिदाको दिन एक लाखभन्दा बढीको टिकट बिक्री हुने गरेको छ भने अन्य समयमा १५ हजारदेखि २० हजार रुपैयाँबराबरको टिकट बिक्री हुने गरेको छ ।

२०३० सालमा तत्कालीन राजा वीरेन्द्रले बुलबुलेलाई उद्यानको रूपमा विकास गर्न लगाएका थिए । त्यसयता २०४५ सालदेखि बुलबुलेलाई उद्यानको रूपमा विकास गर्न सरकारले अपनत्व लिन सुरु गरेको थियो ।

बुलबुले तालमा धारा रहेकाे नजिकै सानाे अर्काे ताल निर्माणकाे काम जारी छ । गुरुयोजनाअनुसार काम गर्न र आगामी २०८२ असार मसान्तसम्म सम्पन्न गर्ने गरी प्रविण निर्माण सेवालाई १ करोड १२ लाखमा ताल विस्तारको जिम्मा दिइएको छ ।

ठेक्काअनुसार जैविक विविधता (पानीमा खेल्ने चरा) को अस्तित्व जोगाउने गरी ताल निर्माण, कम्पाउन्ड वाल, क्यानल कभर, प्लस्टर र फुटपाथ व्यवस्थापन गरिन लागिएकाे छ ।

स्ट्रम बाेट सञ्चालनमा रहेकाे तालदेखि उत्तर र धारा रहेकाे तालकाे बिचमा नयाँ बनाउन लागिएको नयाँ तालमा पानीको संरक्षणसँगै डुङ्गा चल्ने मुख्य तालमा पानीको आपूर्तिको व्यवस्था मिलाइनेछ ।

गुरुयोजना कार्यान्वयनअन्तर्गतको पहिलो चरणको काममा मुख्य ताललाई ११ हजार वर्गमिटरबाट २८ हजार वर्गमिटरमा विस्तार गरी डुङ्गा सञ्चालन गर्न मिल्ने बनाइ सकिएकाे छ । गुरुयोजनामा समेटिएका बाँकी कामहरू क्रमश: अघि बढाउँदै लगिने नगर प्रमुख ढकाल बताउँछिन ।

बुलबुलेलाई व्यवस्थित र रमणीय हरितमैत्रीस्थल बनाउन नगरपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको उनले बताइन् । नगर उपत्यका विकास समितिले बुलबुलेलाई थप व्यवस्थित र आकर्षक बनाउन गुरुयोजना तयार गरेको उल्लेख गर्दै उनले सोहीबमोजिम नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट केन्द्रित गराउँदै आएको छ।

बुलबुले ताल मात्रै होइन, यो समग्र सुर्खेत जिल्लाको चिनारीसमेत हो । तालकै नामबाट सिर्जना गरिएका गीत सङ्गीतका माध्ययमबाट सुर्खेतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउन मद्दत पुगेको छ ।

तपाईको प्रतिक्रिया