लम्की–बाबियाचौर विद्युत लाइन बन्द गरिँदै, डडेल्धुरा–अछाम–सुर्खेत जाेडियाे

सुर्खेत । कैलालीको लम्कीबाट बावियाचौरहुँदै वीरेन्द्रनगर ल्याइएको विद्युतको ३३ केभी प्रशारण लाइन बन्द गर्न लागिएको छ । चिसापानी–कुईने सडक निर्माणको क्रममा किनाराका रुख र विद्युत पोल हटाउन लागिएकाले कम्तिमा १५ दिन विद्युत प्रशारण लाइन बन्द गर्न लागिएको हो ।




सडक डिभिजन महेन्द्रनगरले चिसापानी–कुइने सडक निर्माण गर्न २०७९ मै ठेक्का लगाएको हो । तर सडक किनाराका रुख र पोलका कारण सडकले गति नलिएपछि बेलाबेला विरोध भएपछि बैशाख २ गते रुख कटानका लागि सम्झौता गरिएको थियो ।

अहिले रुख कटानको सबै प्रक्रिया सकिएकाले विद्युतको प्रशारण लाइन नै बन्द गर्न लागिएको हो । कोहलपुर–सुर्खेत ३३ केभी प्रशारण लाइनले लोड धान्न नसकेपछि बैकल्पिक रुपमा लम्कीबाट बावियाचौरहुँदै विद्युत वीरेन्द्रनगर जोडिएको थियो ।

लम्कीबाट वीरेन्द्रनगर जोडिएको लाइन बन्द हुनेभएपछि विद्युतको वैकल्पिक लाइन जोड्ने काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख अशोक लोहनीले जानकारी दिए ।

डडेल्धुराको स्याउलेबाट डोटी–अछाम–दैलेखहुँदै विद्युतको ३३ केभी प्रशारण लाइन सुर्खेत जोडिएकाे छ । ‘पश्चिम बावियाचौरहुँदै वीरेन्द्रनगर जोडिएको विद्युत लाइन बन्द गर्नुपर्ने सूचना यसअघि नै आइसकेको हो,’ लोहनी भन्छन्, ‘बैकल्पिक विद्युतको प्रशारण लाइनको व्यवस्था गरेर बन्द गर्ने तयारीमा छौं । सम्भवत असार १ गतेदेखि लम्की–बावियाचौर–वीरेन्द्रनगर ल्याइएको विद्युत लाइन बन्द हुनेछ ।’

डडेल्धुराबाट सुर्खेत जोड्न लागिएको विद्युत बिहीबार वीरेन्द्रनगरमा रहेको बुदवुदी सवस्टेशनमा परीक्षणसमेत गरिएको नेपाल विद्युत प्राधिकरण दैलेखका निमित्त प्रमुख प्रेम विष्टले नेपालकर्मलाई जानकारी दिए ।

परीक्षणका क्रममा वीरेन्द्रनगरमा आधा फिडरबाट विद्युत दिँदा लोड धानेपनि सबै फिडरमा जोड्न खोज्दा अछामको साँफेबगरमा लाइन ट्रिप भएको उनले बताए । अछामको बेलखेतबाट विद्युतको प्रसारण लाइन मध्यपहाडी राजमार्गको कर्णाली पुल नजिकै दैलेख–कालिकोट लाइनमा जोडिएको छ ।

दैलेख र दुल्लु सव स्टेशनमा कनेक्शन सुधारको काम सकिएको छ । कोहलपुर–सुर्खेत र डडेल्धुरा–अछाम–दैलेख–सुर्खेत ३३ केभी विद्युत प्रशारण लाइनबाटै विद्युत विस्तार भएका कर्णालीका जिल्लाहरूमा सूचारू गरिनेछ ।

तपाईको प्रतिक्रिया