दक्षिण कोरियाका अम होंग सुर्खेतमा बनाउँदैछन् १८ काेठे विद्यालय भवन

सुर्खेत । अम होंग गिल दक्षिण कोरियाका नागरिक हुन् । १७ वर्षदेखि नेपालका दुर्गम क्षेत्रका सामुदायिक विद्यालयको जीर्ण संरचनाको पुनःनिर्माण तथा शिक्षाको गुणस्तर अभिवृद्धि र स्वास्थ्य सेवा क्षेत्रमा आफूलाई सक्रिय रुपमा उभ्याउँदै आएका छन् ।




सन् १९८८ मा सगरमाथा आरोहरण गरेका ६५ वर्षीय गिलले सन् २००७ सम्म विश्वका १६ वटा हिमालको चुचुरो चुमेंका छन् । हिमाल आरोहणका क्रममा त्यहाँका जनताबाट पाएको स्नेहलाई अझ सबैमाझ बाँड्ने उदेश्यलेसन् २००८ मा अम होंङ गिल ह्युमन फाउण्डेशनको स्थापना गरेका हुन् ।

फाउण्डेशनको क्याप्टेन रहेका गिलले नेपालका ग्रामिण क्षेत्रका विद्यालयहरुको भवन निर्माणसँगै शिक्षाको गुणस्तर अभिवृद्धि र स्वास्थ्य सेवा क्षेत्रमा आफूलाई सक्रिय रुपमा उभ्याउँदै आएका छन् ।

गिलले २० औं विद्यालय भेरीगंगा नगरपालिका–११ रामाघाट सुर्खेतमा रहेको शिखर माध्यमिक विद्यालयको १८ कोठे भवन निर्माणको प्रक्रिया थालिएको छ । सफा, सुरक्षित, भूकम्प प्रतिरोधी, सुविधा सम्पन्न र बालमैत्री विद्यालय भवन निर्माण, आधुनिक पुस्तकालय तथा प्रयोगशाला, खानेपानी तथा आधुनिक शौचालय निर्माणमा गरिने गिलले बताएका छन् ।

नेपाल सरकारसँगको समन्वयमा सुर्खेतमा पनि विद्यालयको काम थालेको उनले जानकारी दिएका छन् । सन् २०२५ बाट निर्माण आरम्भ थालिएको विद्यालय दुई वर्षमा सक्ने लक्ष्य रहेको फाउण्डेशनले जनाएको छ ।

निस्वार्थ भावना बोकेर नेपालका दुर्गम जिल्लामा पुगेर विद्यालय भवन निर्माणमा सहयोग गर्ने गिललाई भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले धन्यवाद दिएका छन् ।

‘सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ,’ ढकालले भने, ‘दक्षिण कोरियाबाट सुर्खेत पुगेर विद्यालयको शैक्षिक सुधारका लागि भवन निर्माणमा सहयोग गर्नु सह्रायिन कार्य हो ।’

गिलले १८ औं विद्यालय दुल्लु नगरपालिका–७ कीर्तिखम्ब दैलेखमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सन् २०२४ बाट निर्माण गरिरहेका छन् । ‘म मेरो बाँकी समय नेपाली बालबालिकाहरुको शिक्षामा योगदान गर्ने उदेश्यले यो अभियानमा लागेको हुँ,’ गिल भन्छन्, ‘नेपाली बालबालिकाको अनुहारमा खुसी देख्न चाहान्छु । यो यात्रा यति चाँडै रोकिने छैन् ।’

विगतमा पूर्वाधार पुनः निर्माणमा केन्द्रित भएको फाउण्डेशनले अब नेपालको शैक्षिक गुणस्तर अभिवृद्धिमा भूमिका खेल्ने जनाएको छ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा केन्द्रित गर्न भवन निर्माणदेखि अन्य सहयोगका काम गर्दै आएको फाउण्डेशनका कार्यक्रम व्यवस्थापक निलम थापा जानकारी दिइन् ।

उनले पूर्वाधार विकाससँगै गुणस्तरीय शिक्षाका लागि समयसापेक्ष प्रभावकारी कार्यक्रम चलाउँदै आएको र यसले नेपालको शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउन मद्दत गर्ने अपेक्षा फाउण्डेशनको रहेको थापा बताउँछिन् ।

सन् १९६० मा दक्षिण कोरियाको ख्योङ्साङ्नाम प्रान्तमा गिलको जन्म भएको थियो । नेपाललाई ‘दोस्रो मातृभूमि’ मान्ने उनी नेपाल र नेपाली जनताको हितका लागि अनवरत खटिरहेका छन् ।

विश्वमाझ नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउँदै आएका उनी नेपाल भ्रमण वर्ष सन् २०११ को पर्यटन दूत बनिसकेका छन् । सरकारले भ्रमण वर्ष २०२० मा उनी पर्यटन दूत बनाएको थियो । नेपाल र दक्षिण कोरियाको राष्ट्रिय तथा जनस्तरको सम्बन्ध विकासमा पनि उनको उल्लेखनीय योगदान रहेको छ ।

तपाईको प्रतिक्रिया