
सुर्खेत । कर्णाली प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा विपद साहसिक पुरुस्कार वितरण गरेको छ । प्रदेश सरकारले कर्णालीका बिभिन्न जिल्लामा खटेर विपदका घटनामा खोज, उद्दार र पुर्नस्थापना कार्यमा पाँच जनालाई पुरुस्कार दिइएको हो ।
विपद साहसिक पुरुस्कार पाउनेमा नेपाल प्रहरी दुई जना, नेपाली सेनाका दुई जना र शसस्त्र प्रहरीका एक जना रहेका छन् । उनीहरुलाई जनही ३० हजार नगद, खादा तथा प्रमाणपत्र दिएर सम्मान गरिएको छ ।


नेपाल प्रहरीका प्रहरी निरीक्षक धर्मेन्द्र खडकाले १७ कार्तिक २०८० मा जाजरकोट भूकम्पमा पुरिएका, घाइते भएका, मृत लासहरुको खोज, उद्दार र राहतमा उल्लेखनिय योगदान दिएकामा र हवल्दार प्रेमबहादुर चुनारालाई ११ साउन २०८१ मा सुर्खेतको वीरेन्द्रनगर–१३ मा खम्ब बुढाको घर भत्किदा उनको १४ बर्षिया छोरी सुशिला बुढा च्यापिएको अवस्थामा सकुशल उद्दार गरेकोमा साहसिक पुरुस्कार दिइएको हो ।


नेपाली सेनाका प्युठ विजय कोइरालालाई २५ चैत्र २०८० मा डोल्पा जिल्लाको ठुली भेरी नगरपालिका–४ भवानी सामुदायिक वनमा आगलागी नियन्त्रण गर्न अदम्य साहस देखाउदा आफै घाइते भएको (हालसम्म उपचारमा नै रहेको) र प्युठ केवल कटुवाललाई १७ कार्तिक २०८० मा जाजरको भूकम्पका कारणले जोखिम पूर्ण चट्टान व्यवस्थापनको ‘अपरेसन सिमपानी रक्षा’ कार्यमा बाह्य धनजनको क्षति हुन नदिई आफै घाइते भएका कारणले साहसिक पुरुस्कार दिइएको हो ।

त्यस्तै, शसस्त्र प्रहरीका सहायक हवल्दार धनबहादुर पुनलाई ३ पुष २०८१ मा सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनास्थित सिटी हल नजिकै रहेको पुलबाट भेरी नदीमा हाम फालेका व्यक्तिलाई सकुशल उद्धार गरेका कारणले साहसिक पुरुस्कार दिईको हो ।

नेपाल कर्म । १५ जेष्ठ २०८२, बिहीबार १५:१९