
सुर्खेत । यू–१६ क्रिकेट राष्ट्रिय प्रतियोगिता जेठ १९ गतेदेखि ३१ गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र कर्णाली प्रदेश क्रिकेट संघको सह–आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

२०२५ मा हुने एसिसि यू–१६ इष्ट जोन कप २०२५ लाई मध्यनजर राखेर प्रतियोगिता हुन लागेको हो ।
हाल कर्णाली प्रदेशले क्रिकेटमा ठुलो उपलब्धी हासिल गरिरहेको र कर्णाली प्रदेशको सुर्खेतमा पहिलो पटक आयोजना हुन लागेको र प्रतियोगिताले यस प्रदेशको आर्थिक गतिबिधिसँगै खेल क्षेत्रको विकासमा टेवा पुग्ने नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष तथा कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर खड्का बताए । ‘यस प्रतियोगिताबाट यु–१६ को पुरुष टिमका लागि राष्ट्रिय खेलाडी छनौट गर्ने लक्ष्य राखिएको छ,’ उनले भने,‘सातै प्रदेशका खेलाडीहरुको सहभागिता रहनेछ ।’


खेल लिग चरणमा हुने, सातै प्रदेशबाट सहभागिता रहने र जम्मा २१ खेल हुने प्रतियोगिता संयोजक श्रीधर केसीले जानकारी दिए । उनका अनुसार सुर्खेतको कालिञ्चोक क्रिकेट मैदान र वीरेन्द्रनगर मैदानमा खेल हुने छन् ।
नेपाल कर्म । १४ जेष्ठ २०८२, बुधबार ११:४८