
सुर्खेत । गणतन्त्र दिवसको अवसरमा कर्णालीको सामाजिक विकास मन्त्रालयले बहुसांस्कृतिक प्रदर्शनी गर्ने भएको छ । जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा त्रिदिवसीय (१४, १५ र १६ गते) कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा प्रदेश सरकारले निर्णय गरेको हो ।
दिवसका दिन आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा मूल समारोह आयोजना हुनेछ । सामाजिक विकास मन्त्रालयद्वारा जेठ १४ गते रक्तदान कार्यक्रम, १४ र १५ गते खेलकुद सम्बद्ध कर्णाली प्रदेशस्थित पदाधिकारीहरूबीच राष्ट्रिय खेलकुद प्रतियोगिता सम्बन्धी कार्यशाला गरिनेछ भने जेठ १६ गते १ बजेदेखि बहुसांस्कृतिक प्रदर्शनी गरिने मन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।
परम्परागत संस्कृतिहरूको पुस्तान्तरण गर्न विद्यार्थीहरूबीच प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले सांस्कृतिक प्रदर्शनी कार्यक्रम राखिएको मन्त्री भण्डारीले बताए ।
‘बहुसांस्कृतिक कार्यक्रम वीरेन्द्रनगस्थित सिटी हल परिसरमा सञ्चालन हुनेछ,’ उनले भने,‘कर्णाली प्रदेशस्थित परम्परागत संस्कृतिमा आधारित नृत्यहरू प्रदर्शन हुनेछन् ।’


त्यसका लागि वीरेन्द्रनगस्थित सामुदायिक, निजी र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सहभागितामूलक नृत्य प्रस्तुत हुने सामाजिक विकास महाशाखा प्रमुख सुवर्ण खड्काले बताए । ‘प्रदर्शनीका लागि वीरेन्द्रनगरस्थित सामुदायिक, निजी र संस्थागत विद्यालयका प्रतिनिधिहरूबीच छलफल समेत भएको छ। छलफलका क्रममा विद्यालयहरूबाट सहभागितामूलक उपस्थिति जनाउने प्रतिवद्धता जनाएका छन्,’ उनले भने,‘‘विशेषगरी थारू नृत्य, घाँटु नृत्य, झाँगड नृत्य, शेर्पा नृत्य, गुरूङ नृत्य, मगर नृत्य, देउडा नृत्य, राउटे नृत्य, मयूर नृत्य, कौडा नृत्य, मारूनी नृत्य, सिंगारू नृत्य, हुड्के नृत्य, सोरठी, टप्पा, स्वदेश गान, लोक झ्याउरे लगायतका सांस्कृतिक नाँचहरू प्रदर्शन हुनेछन् ।’
मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीको सानदार प्रतिस्पर्धाका लागि खेल सम्बद्ध पादधिकारीहरूबीच कार्ययोजना निर्माण गर्न कार्यशाला हुने भएको छ । यसले आगामी वर्षहरूमा गर्ने कामहरूका बारेमा कार्ययोजना निर्माण गरिने युवा तथा खेलकुद महाशाखाले जनाएको छ । जेठ १४ र १५ गते दुर्इ दिवसीय कार्यशालामा खेलसँग सम्बन्धित विभिन्न संघ संस्थाहरूबाट सहभागिता रहने बताइएको छ ।

नेपाल कर्म । १३ जेष्ठ २०८२, मंगलवार १७:४७