सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाले गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम लागु गरेको छ। पालिकाले बुधबारदेखि “आमाको गर्भ सुरक्षित हुदा एउटा युग सुरक्षित हुन्छ ।” भन्ने नाराका साथ ‘उपाध्यक्षसँग गर्भवती कार्यक्रम’ अन्तरगत पोषिलो खाना, निःशूल्क ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम तथा सामाग्री वितरण कार्यक्रमको लागु गरेको हो।

पालिका भित्र रहेका गर्भवती महिलालाई स्वास्थ्य संस्थाको पहुँचसम्म पुर्याउन सुनौलो हजार दिन अन्तर्गत गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको पालिकाले जनाएको छ।

गाउँपालिकाभित्रका कोही पनि गर्भवती महिला गुणस्तरयुक्त पोषण र उपचारको अभावमा मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्यले यस्तो कार्यक्रम सुरु गरिएको गाउँपालिका उपाध्यक्ष शिवा खड्काले जानकारी दिइन्।
आर्थिक वर्ष ०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत गर्भवती महिलाको पोषणका लागि यो कार्यक्रम अघि बढाइएको छ।


उक्त कार्यक्रम अन्तरगत निरन्तररुपमा स्वास्थ्य संस्थामा जाँच गर्ने महिलालाई कोसेलीमा पोषिलो खानेकुराका साथै अल्ट्रासाउण्ड जाँच (भिडियो एक्स–रे) समेत उपलब्ध गराईएको छ।
८ दिन चल्ने उक्त कार्यक्रममा बुधबार गुराँस गाउँपालिका–४ को तालपोखरी र बिहीबार पालिकाको ७ नम्बर वडामा सम्पन्न भएको छ।
दुई दिनमा ४७ जना गर्भवतीले सेवा लिएका छन्।
पालिकाले ती प्रत्येक गर्भवतीको भिडियो एक्स–रे सँगै अन्डा र पोषिलो खानेकुरा वितरण गरिएको छ।


नेपाल कर्म । ८ असार २०८०, शुक्रबार १५:४५