सुर्खेत । सुर्खेत विमानस्थलको रनवे (धावनमार्ग) मा खाल्डो परेपछि बन्द गरिएको जहाज उडान अवतरणका लागि खुला गरिएको छ । विमानस्थलको नेवारे स्कुलतर्फको धावनमार्गमा पानीको मुहान नै फुटेपछि मर्मतका लागि बन्द गरिएको विमानस्थल शनिवारदेखि खुला गरिएको हो ।

शुक्रबार मर्मतको काम सकिएसँगै जहाज अवतरणका लागि योग्य भएकाले बन्द गरिएको विमानस्थल खुला गरिएको सुर्खेत विमानस्थलका प्रमुख हिराजन काफ्लेले नेपालकर्मलाई जानकारी दिए।

‘शुरुमा खाल्डो देखिएको ठाउँमा मर्मत गर्दै गर्दा पुनः अर्को ठाउँमा जमिनमुनीबाट पानी निस्किएपछि थप दुई दिन विमानस्थल बन्द गर्नुप¥यो,’ काफ्लेले भने, ‘धानवमार्ग मर्मतको काम सकिएसँगै नियमित जहाज उडान र अवतरणका लागि पुनः खुला गरेका छौं ।’

धावनमार्गमै पानी निस्किएर भासिन थालेपछि भौगर्भिक अनुसन्धान गर्ने कार्यपनि अघि बढाइने उनले बताए । मंगलबारदेखि विमानस्थल बन्द हुँदा कर्णालीका नागरिक हवाई यात्राका लागि नेपालगन्ज पुग्नुपर्ने अवस्था थियो ।
विमानस्थलमा जमिन नै भासिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलसहितको टोलीले बिहीबार निर्माणस्थलको अनुगमन गरेका थिए ।
अहिले भासिएको क्षेत्रदेखि उत्तरतर्फ धावनमार्ग विस्तार गर्ने तयारी पनि छ । सुर्खेत–काठमाडौं–सुर्खेत रुटमा दैनिक वुद्ध र श्री एयरलायन्सले दैनिक दुई-दुई उडान भर्दै आएका छन् ।

नेपाल कर्म । ९ जेष्ठ २०८२, शुक्रबार १६:४७