सुर्खेत । सुर्खेत विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि दुई दिन बन्द गरेर निर्माण थालिएको थियो । एक ठाउँमा काम सकेलगत्तै पुनः दोस्रो ठाउँमा जमिनमुनीबाट पानी निस्कीएपछि पुनः दुई दिन विमानस्थल बन्द गरिएको छ ।

मंगलबारदेखि उडान अवतरण रोकेर काम थालिएकोे विमानस्थलको रनवेको अर्को ठाउँमा पानी नै निस्कीन थालेपछि थप दुई दिन विमानस्थल बन्द गरिएको प्रमुख हिराजन काफ्लेले नेपालकर्मलाई जानकारी दिए ।

‘शुरुमा भ्वाङ (खाल्डो) परेको ठाउँको मर्मत सकेका थियौं । १० मिटरको दुरीमा पुनः अर्को ठाउँमा जमुनीमुनीबाट पानी निस्कीयो,’ प्रमुख काफ्लेले भने, ‘बिहीबार र शुक्रबारसम्म काम सक्नेगरी विमानस्थल बन्द गरिएको छ ।’ खाल्डो परेको रनवे क्षेत्र यसअघि बस्ती उठाएर विस्तार गरिएको क्षेत्र हो ।

नेवार स्कुलतर्फको उत्तरी क्षेत्रको रनवेमा खाल्डो परेपछि मंगलबारदेखि विमानस्थल बन्द गरेर काम थालिएको थियो । शनिवारदेखि नियमित उडान र अवतरण गराउने गरी निर्माणको काम भइरहेको विमानस्थलले जानकारी दिएको छ ।
सुर्खेत विमानस्थलबाट बुद्ध र श्री एयरलायन्सले दैनिक चार उडान सुर्खेत–काठमाडौं–सुर्खेत रुटमा उडान भर्दै आएका छन् । विमानस्थल बन्दहुँदा यात्रुहरु तीन घण्टाको सडक यात्रा छिचोलेर नेपालगञ्ज पुगेर काठमाडौं जाने र सुर्खेत फर्किरहेका छन् ।

नेपाल कर्म । ७ जेष्ठ २०८२, बुधबार १८:५३