सुर्खेत। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले प्रदेश गौरवको आयोजनाको रूपमा रहेको प्रदेश रङ्गशालाको निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन्।
बिहीबार बिहान वीरेन्द्रनगरस्थित निर्माणाधीन प्रदेश रङ्गशालाको निरीक्षण गर्दै मन्त्री सिंहले बजेटको अभाव हुन नदिने बताएका हुन् । रङ्गशाला निर्माणको काम सन्तोषजनक रहेको भन्दै निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।


मन्त्री सिंहले आर्थिक वर्ष २०८०–८१ को बजेटमा प्रदेश रङ्गशालाका लागि रु. ८५ करोड बजेट विनियोजन गरेको जानकारी गराउँदै त्यो रकम अपुग भएमा स्रोत सुनिश्चित गराउने समेत प्रतिबद्धता जनाए । प्रदेश रङ्गशाला कर्णाली प्रदेश सरकारको प्रतिष्ठासँग पनि जोडिएकाले सरकारको तर्फबाट कुनै कमी हुन नदिने सिंहको भनाइ छ।
‘म अर्थमन्त्रीका रूपमा रहुन्जेल बजेटको कुनै चिन्ता नमान्नुहोस्, प्रदेश गौरवको आयोजनाका रूपमा रहेको यो रङ्गशालाका लागि बजेटको अभाव हुन दिन्नँ, पर्याप्त बजेटको व्यवस्था गर्छु’, मन्त्री सिंहले भने ।

खेलकुद मानिसको स्वास्थ्य र अनुशासनसँग जोडिएको विषय रहेको उल्लेख गर्दै मन्त्री सिंहले यस क्षेत्रको पूर्वाधार निर्माणमा प्रदेश सरकार गम्भीर रहेको बताए ।
आउँदो वर्ष मंसिरमा कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै रङ्गशाला निर्माणको काम धमाधम भइरहेको छ। कर्णालीमा २०८१ को मङ्सिर २ देखि ९ गतेसम्म १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिने तय भइसकेको छ।
आउँदो जेठमा रङ्गशालाको निर्माण कार्य सक्ने लक्ष्यका साथ काम भइरहेको र हाल ४० प्रतिशत काम सम्पन्न भएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।

नेपाल कर्म । ७ असार २०८०, बिहीबार १७:२२