हेर्न लायक बनाइँदै सुर्खेतको गढी, पुनर्निर्माणका लागि सात लाख बजेट खर्चिदै

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१४ मा रहेको गढीको पुनर्निर्माण थालिएको छ । पुरातत्व विभागको क्षेत्राधिकारमा पनेए गढीलाई हेर्न लायक बनाउन पुनर्निर्माण शुरु गरिएको हो ।



विभागले चालु आर्थिक वर्षमा गढी पुनर्निर्माणका लागि सात लाख बजेट विनियोजन गरेको छ । त्यहीँ बजेटमार्फत छरपष्ट रहेको गढीलाई अन्तिम स्वरुप दिन अहिले काम भइरहेको हो ।

नेपाली सेनाको कपासे ब्यारेकले हाल निर्माण व्यवसायीलाई जिम्मा दिएर काम थालेको हो । आर्थिक वर्ष २०८१-०८२ को जेठ मसान्तसम्म काम सक्नेगरी सेनाले याम जी कन्ट्रक्सनलाई निर्माण जिम्मा दिएको छ । उत्खननसँगै हेर्न लायक गढी निर्माणको काम भइरहेको याम जी कन्ट्रक्सनका सञ्चालक रेशम ढकालले नेपालकर्मलाई जानकारी दिए ।

गढीको एकिन लिखित संरचना नभएकाले विभागले भनेअनुसारकै हेर्न लायक गढीको काम भइरहेको ढकालले बताए । ‘गढीमा कुनै बेला हतियार राख्ने खोपासहितको संरचनामा निर्माणको काम थालेका छौं,’ ढकाल भन्छन्, ‘तारबार गरेर घेरिएको तर हेर्न लायक संरचना नहुँदा खिन्न हुने परिस्थिति थियो । केही दिनमै कम्तिमा गढीमा पुग्दा र्हेन लायक संरचना तयार गर्नेगरी काम गरिरहेका छौं ।’

गढी समुद्री सतहदेखि १,५२२ मिटर उचाइमा अवस्थित छ । बयलकाँडा गढीमा कुनै समय सुर्खेतको सदरमुकाम थियो । २०१९ सालमा औलो उन्मुलनका लागि कार्यालय स्थापना भएको र गढीमा रहेका सरकारी कार्यालयमा २०२३ मा वीरेन्द्रनगर उपत्यकामा सारिएको थियो ।

बाइसे चौबिसे शासनकाल, राणाकाल र पञ्चायतको प्रारम्भमा बाक्लो बस्ती, मानिसहरुको चहलपहल रहेको गढी क्षेत्र जब सुर्खेतमा औलो उन्मुलन भयो तब क्रमशः सुनसान बन्दै गयो ।

सुर्खेत उपत्यकामा २०२२ सालमा औलो उन्मुलन घोषणा भएको थियो । त्यस अघि उपत्यकाको तल्लो क्षेत्रमा राजी र थारु जातिको मात्र बसोबास थियो । गोठीकाँडाका केही अगुवाले उपत्यकामा गरिने खेतीबालीको सहयोगका लागि दाङबाट थारु जातिका मानिस झिकाएका थिए ।

२०२३ को मंसिरतिर गोठीकाँडा क्षेत्रका प्रशासनिक कार्यालयहरु पनि उपत्यकामा स्थानान्तरण भए । कट्कुवा, कपासे क्षेत्रको पुरै बस्तीलाई स्थानान्तरण गरी त्यहाँ वृक्षारोपण कार्यक्रम सञ्चालन गरियो ।

बयलकाँडा टाकुरामा ऐतिहासिक गढीमा लामो समयदेखि भग्नावशेष रहेको थियो । यो पाँच कट्ठा १३ धुर क्षेत्रफलमा फैलिएको छ । गढी बाइसे चौबिसे राज्यकालमा बनेको अनुमान छ । गढीको केही दुरीमा फाटफुट अक्षर देखिने ढुंगाका खम्बाहरु गाडिएका छन् ।

यो त्यतिबेला दैलेख बेलासपुर राज्यको अधिनस्थ थियो । गोर्खाली फौज र बेलासपुरे राजाका फौजबीच लडाइँ हुँदा गढी भत्किएको हुन सक्ने अनुमान बाहेक लिखित दस्तावेज हालसम्म भेटिएका छैनन् ।

गढीमा अवस्थित स्तम्भमा लेखिएको छ, ‘साके १७१२ मा फेरि कालु पाँडे, सरदार सत्रुघन शाही कम्पनी २ ली कास्कीका द्धान्या जैभत्र बोहरा थर घर उमराली सुर्षेत दैलेखका लडायी जीती दैलेख सर गरी कर्नालीमा खाडो पखाली नेपाल गया ।’

यो लेखोटले युद्धभन्दा अघि र पछि पनि युद्ध भएको अनुमान गर्न सकिन्छ । बहादुर शाहका पालामा बेलासपुर राज्य कब्जा गरिएको थियो । किनकी यो बेलासपुर राज्यको अधिनमा थियो । अन्यत्रका गढीको इतिहास हेर्दा यो गढीको पनि नेपाल एकिकरणकै क्रममा भत्काइएको अनुमान गर्न सकिन्छ ।

गढीकै नामबाट साबिक गाउँ विकास समितिको नामकरण गरिएको थियो । यहाँबाट वीरेन्द्रनगर उपत्यकासंगै बराहताल र दैलेखको गुराँस गाउँपालिकाका विभिन्न बस्तीलाई नियाल्न सकिन्छ ।

सूर्योदयदेखि सूर्यास्तसम्म बयलकाँडा गढीबाटै देख्न सकिन्छ । हिउँदमा पारिलो घाम ताप्न पाइने र गर्मी याममा चिसो हावा चल्ने हुँदा वीरेन्द्रनगरबाट गर्मी छल्न अधिक मानिसहरु त्यहाँ पुग्ने गर्छन् । शनिबार र बिदाका दिन गोठीकाँडा क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्दछ ।

यो क्षेत्र यो स्थान पर्यापर्यटनमा रमाउन मात्र नभई इतिहासका विद्यार्थी र अन्वेषकका लागि समेत भ्रमणयोग्य रहेको नेपाल पत्रकार महासंघका अध्यक्ष समेत रहेका सुर्खेत इतिवृत्त २ लेखकका सुशीलराज शर्मा बताउँछन् ।

उनका भनाईमा खस राजा, बेलासपुरे राजाका फौजको सेल्टरका रुपमा गढीलाई उपयोग गरेको देखिन्छ । जब बेलापुर राज्य र दुल्लु राज्यका बीच मनमुटाव भयो अनि बहादुर शाहको नेतृत्वमा त्यसलाई ध्वस्त पारिएको हुनसक्छ ।

गढी संरक्षणका लागि तारजाली लगाइएको छ । नेपाली सेनाले यसको संरक्षण गर्दै आएको छ । सेनाले यसको प्रवेशद्धारमा पृथ्वीनारायण शाहको प्रतिमा बनाएको छ । जसले यस क्षेत्रको शोभा बढाएको छ ।

गोठीकाँडा क्षेत्र पुग्न सुर्खेत–दैलेख सडक अन्तर्गत छेडाबाट पश्चिमतर्फ मोडिनुपर्छ । दैलेख सडकको जिरोप्वाइन्ट इत्राम कपासेदेखि छेडाको दुरी ७ किमी छ । वीरेन्द्रनगर १ टेम्पो पार्क–बराहताल गाउँपालिका–१० सलेना हुँदै वैकल्पिक सडक निर्माण गरिएको छ ।

कुनै बेलाको राज्य सञ्चालनको केन्द्र, प्रशासनिक केन्द्र सुर्खेत उपत्यका (वीरेन्द्रनगर) को विकास क्रमसंगै ओझेलमा पर्दै गयो । अधिक मानिसहरु बसाइँ सर्न थालेपछि यो ठाउँ विकासका अभियानबाट बञ्चित हुन पुग्यो ।

कुनैबेलाको विकसित ठाउँ हाल पिछडिएको, आधुनिक विकास संरचनाबाट ठगिन पुगेको छ । सडक पुरै कालोपत्रे भइसकेको छैन् । पछिल्ला वर्ष त्यहाँको मुख्य समस्या खानेपानी बनेको छ ।

नजिक पानीको मुहान नहुँदा र टाढा रहेका मुहानहरु पनि दिनानुदिन बढ्दो तापक्रमका कारण सुक्दै गएका छन् । गाउँमा भएको सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा छैन् । निजी स्कूलहरु छैनन् ।

जसले गर्दा छोराछोरीको शिक्षादिक्षाका लागि समेत त्यहाँबाट वीरेन्द्रनगर बसाइँ सर्ने प्रचलन बढेको छ । वीरेन्द्रनगरले गढीकाे विकासका लागि पर्यटकीय क्षेत्र घाेषणा गरेर सडक पूर्वाधारदेखि अन्य कामहरू गरिरहेकाे छ ।

वीरेन्द्रनगर नगरपालिकाले गढी क्षेत्रमा तारबार लगाउने जस्ता प्रारम्भिक संरक्षण कार्यहरू गरेको छ। कालीबहादुर गण कपासे ब्यारेक, सुर्खेतले गढीको संरक्षण र प्रचारप्रसारमा पहल गरिरहेको छ।

नेपाली सेनाले गढीको संरक्षणको लागि ५ लाख रुपैयाँ बजेट छुट्याएको थियो, जसबाट गढी संरक्षणबारे अन्तरक्रिया, स्थलगत अध्ययन र गढीको स्केच (डिजाइन) बनाउने काम भएको छ।

गढी पुनर्निर्माणसँगै चहलपहल बढ्ने अपेक्षा गरिएको छ । वीरेन्द्रनगर– ४ देखि १४ नम्बर वडास्थित गढीसम्म पुग्ने पैदल मार्गको यसअघि नै निर्माण गरिएकाे छ ।

तपाईको प्रतिक्रिया