सुर्खेत । लेकवेशी नगरपालिकाले नगरको अधिकाँश तथ्याङ्क एकीकृत तथ्याङ्क व्यवस्थापन प्रणालीमा रुपान्तरण गरेको छ । नगरका सबै शाखाहरुले तथ्याङ्कहरुलाई एकीकृत गर्दै अध्ययन वा वस्तुगत जानकारीमा दिन मिल्ने विवरणहरु सार्वजनिक गर्दै आएको हो ।

लेकवेशीले २० वटा शिर्षकका तथ्याङ्कहरु एकीकृत व्यवस्थापनबाट संकलन गरेर सार्वजनिक गरिरहेको छ । स्वास्थ्य, शिक्षा, प्रधानमन्त्री रोजगार कार्यक्रम, महिला र बालबालिका, नागरिकता, पशु, राजश्व प्रणाली, उद्योग, वातावरण र कृषि, न्यायिक समिति लगायतका शिर्षकहरुको तथ्याङ्कमा एकरुपता कायम गरेको छ ।

हरेक तीन तीन महिनामा तथ्याङ्कहरु अध्यावधिक गर्दै आएको लेकवेशी नगरपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत भरत ढकालले जानकारी दिए । ‘विगतमा तथ्याङ्क लिन वा बुझ्न प¥यो भने फायल खोज्नु पर्ने परिस्थिति थियो,’ ढकाल भन्छन्, ‘एकीकृत तथ्याङ्क व्यवस्थापन प्रणाली लागूपछि अधिकाँश विवरणहरु एकद्वारमा समावेश गरिदिएपछि शाखागत रुपमा सबैलाई सहज बनाइदिएको छ ।’


डिजिटल रुपमै हरेक नागरिकले पाउनुपर्ने जानकारी र सूचनाहरु समावेश गरेर सार्वजनिक गरिदिँदा कर्मचारीलाई कार्यवोझ अन्त्य भएको नगरपालिकाको भनाई छ । ३१ हजार ७१० जनसंख्या रहेको लेकवेशी नगरपालिकामा हालसम्म ११३ तथ्याङ्क समावेश गरिएको छ ।
समावेशमध्य विवरणमध्य हालसम्म ३७२ तथ्याङ्क नागरिकहरुले डाउनलोड गरिसकेका छन् । शाखाहरुले तथ्याङ्कहरु संकलन गरेर आफै यो प्रणालीमा समावेश गरिरहेका छन् ।
तथ्यांकका कारण मुख्यगरी नीति तथा कार्यक्रम र बजेट निर्माणमा सहयोग पुगेको उपप्रमुख विमला खड्लुक बताउछिन् । ‘मागको आधारमा नभइ जनसंख्या र तथ्याङ्कअनुसार कुन वडामा कस्ता योजना प्रभावकारी हुन्छन् भन्ने जानकारी लिन सहयोग पु¥याएको छ,’ उनले भनिन्, ‘योजना छनौट र बजेट बनाउँदा वडाबाट आएको मागका आधारमा बनाउने गरिएकामा अब तथ्याङ्कको विश्लेषणका आधारमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको गहृकार्यमा छौं ।’
आर्थिक वर्ष २०७९/८० देखि नै लेकवेशीले एकिकृत तथ्याङ्क व्यवस्थापन प्रणाली लागू गरेको हो । कर्णाली प्रदेशमा यो प्रणाली लागू गर्ने लेकवेशी पहिलो स्थानीय तह बनेको छ । नगरपालिकाले तथ्याङ्कको सही प्रयोगका लागि सूचना तथा तथ्याङ्क व्यवस्थापन ऐन, २०८० निर्माण गरेर कार्यान्वयनमा ल्याएको छ ।

नेपाल कर्म । १ जेष्ठ २०८२, बिहीबार ०९:१६