
सुर्खेत । यातायात व्यवस्था कार्यालय सुर्खेत सार्वजनिक यातायातको अनुगमन गरेको छ । बुधबार वीरेन्द्रनगरको यारीचोकमा यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश र कर्णाली प्रदेशको ट्राफिक कार्यालयले संयुक्त रुपमा सार्वजनिक यातायातका साधनको अनुगमन गरेका हुन् ।
मोटरसाइकल, ट्याक्सी, बस, अटोलगायत गरेर सात प्रकारका सवारी साधनको जाँच गरिएको थियो ।
सार्वजनिक यातायातको अवस्थाका विषयमा अनुगमन गरिएको यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख मुकुन्दनाथ याेगीले बताए । ‘सवारी साधनको दर्ता, दर्ता प्रमाणपत्रको वैधता, सवारी चालक अनुमतिपत्र, चालकसँग वैध चालक अनुमति पत्र छ कि छैन भन्ने बिषयमा अनुगमन गरिएको छ,’ उनले भने,‘सवारी साधनले सडकको मापदण्ड पुरा गरेको छ कि छैन, ब्रेक, लाइट, टायर, साइलेंसर आदिको अवस्था बिषयमा अनुगमन गरिएको छ ।’



भाडा तथा सार्वजनिक सवारी सम्बन्धी मापदण्ड, अनुमति सीमा अनुसार यात्रु बोकिएको छ कि छैन र सवारीले रूट परमिट लिएको छ कि छैन भन्ने बिषयमा अनुगमन गरिएको प्रमुख याेगीले बताए । उनले ओभर स्पिडिङ, ओभरलोड, रेड लाइट क्रस, आदि नियमन गरिएको जनाए ।

नेपाल कर्म । ३१ बैशाख २०८२, बुधबार १६:२८