
सुर्खेत । पशुपति सेरामिक्स प्रालिबाट उत्पादित एटिएस टायलको बजार फैलिदै गएको प्रालिले जनाएको छ । मंगलबार कर्णाली प्रदेशको वीरेन्द्रनगरमा आयोजना गरिएको निर्माणकर्मीसँग अभिमुखिकरण भेलामा उत्पादन भएको छोटोमा अबधिमा नै यसको बजारीकरणमा राम्रो हुँदै गएको प्रालिले जनाएको हो ।
सिमराको विशेष आर्थिक क्षेत्रभित्र रहेको उद्योगले संरचना निर्माण भएर एटिएस ब्रान्डको टायल उत्पादन गरी बिक्री सुरु गरेको हो ।
नेपालमा पहिलो बहुराष्ट्रिय टायल कम्पनीको जोइन्ट भेन्चरको रुपमा स्थापित पशुपति सेरामिक्सले विदेशबाट आयात हुने टायलबाट आत्मनिर्भर हुने लक्ष्य राखिएको कम्पनीका प्रबन्धक सन्नी निमाभटले बताए । ‘झण्डै २ अर्ब रुपैयाँको लगानीमा सञ्चालित उद्योगमा अहिले हामीले २५० जनालाई प्रत्यक्ष रोजगारी दिएका छौं,’ उनले भने,‘दुई हजार ५०० जनाले अप्रत्यक्ष रोजगारी पाएका छन् ।’

कम्पनीले सुरुआती चरणमा भुइँका लागि ४०० गुणा ४०० मिमिको पार्किङ टाइल र ६०० गुणा ६०० मिमिको सेमिभिट्रिफाइड टायल बजारमा ल्याएको निमाभटले जानकारी दिए । उनले भविष्यमा क्रमशः ३०० गुणा ४५० को वाल टायल, ६०० गुणा १२०० को जिभिटी र पिजिभिटी टायल उत्पादन गरिने कम्पनीले बताए । ‘हाम्रो उत्पादनले नेपाली बजारमा ४० प्रतिशत हिस्सा ओगटेको छ,’ उनले भने,‘हाम्रा उत्पादन सस्तो तथा सुलभ रुपमा बजारमा पाइनेछन् ।’

सबै प्रकार र आकारका टायल उत्पादन गर्न स्पेन, इटाली, चीन र भारतका मेसिनरी प्रयोग गरी छ हजार वर्गमिटर क्षेत्रफलमा इटालियन प्रविधिमा आधारित कारखाना स्थापना गरिएको निमाभटले बताए । उनका अनुसार भविष्यमा यहाँ उत्पादित टायलहरु अफ्रिका, बङ्लादेश, अफगानस्थान र श्रीलंका निर्यात गर्ने लक्ष्य राखिएको छ ।
विगतका कर्णाली प्रदेशमा भारतलगाएतका देशबाट टायल ल्याएर बिक्रि गर्ने गरेकोमा अहिले नेपालमा नै उत्पादन हुन थालेपछि यहीको टायलले बजार पाउन थालेको पशुपति सेरामिक्स डिलरका सुर्खेत बिक्रेता कमल गुरुङले बताए । ‘नेपालमा यसरी बिदेशी लगानी तथा स्वदेशी कच्चा पदार्थको प्रयोग र नेपाली दाजुभाईले उद्योगमा रोजगार पाउनु भनेको अत्यन्त सकारात्क र स्वागत योग्य बिषय हो,’ उनले भने,‘लगानी बढाउनका लागि नेपाली उत्पादनलाई ध्यान दिन जरुरी रहेको छ ।’
याे टायल गुणस्तरीय हुनुका साथै २० वर्ष वारेन्टी रहेकाे कम्पनीले जनाएकाे छ ।

नेपाल कर्म । ३१ बैशाख २०८२, बुधबार १२:५२