सशक्त छोरी, समृद्ध कर्णाली



सुर्खेत, ३० वैशाख | कर्णाली प्रदेशको इतिहासमै पहिलोपटक आयोजना गरिएको ‘कर्णाली छोरी सम्मेलन–०८२’ १० बुँदे घोषणापत्र जारी गर्दै सोमबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ। श्री ज्योति फाउन्डेसन र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सहकार्यमा तीन दिनसम्म सञ्चालित उक्त सम्मेलनले कर्णालीका छोरीहरूको सशक्त, सबल र आत्मनिर्भर भविष्य निर्माणतर्फ ठोस कदम चालेको छ।

सम्मेलनमा प्रदेशभरिका ७९ वटै स्थानीय तहबाट आएका दुई सयभन्दा बढी किशोरीहरू सहभागी भएका थिए। सहभागीहरूले तीन दिनसम्म विविध शीर्षकमा आधारित बहस र छलफलमा भाग लिए — जसमध्ये ‘आमाका कुरा’, ‘कर्णालीका सारथी’, ‘राजनीतिमा कर्णालीकी छोरी’, ‘स्वस्थ छोरी, स्वस्थ कर्णाली’ जस्ता विषयहरू प्रमुख थिए।

साथै छोरीका विविध पक्षमाथि उठेका आवाजहरू, बहस र विचार–विमर्शहरूमार्फत सम्मेलनले १० बुँदे घोषणापत्र जारी गर्दै ऐतिहासिक प्रतिबद्धता व्यक्त गरेको छ।

  • बालविवाह र लैङ्गिक विभेद अन्त्यका लागि रणनीति निर्माण प्रदेश र स्थानीय तहमा बाल विवाह अन्त्य तथा किशोरीमुखी कार्यक्रम कार्यान्वयन गरिने।
  • छाउपडी लगायत हानिकारक अभ्यासको अन्त्य महिनावारीसँग जोडिएका विभेदकारी अभ्यास अन्त्य गर्न कानूनको पूर्ण पालना र सचेतनामूलक कार्यक्रम गरिने।
  • विद्यालयमा गुनासो संयन्त्र र बाल संरक्षण सबै विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र लागू गरिने र बाल संरक्षणका मापदण्ड कार्यान्वयन गरिने।
  • कुरीति विरुद्ध किशोरी सञ्जाल गठन सबै पालिकामा किशोरी सञ्जाल बनाएर छोरीलाई सामाजिक रूपान्तरणको संवाहक बनाइने।
  • किशोरीमैत्री यौन तथा स्वास्थ्य शिक्षा
    विद्यालय र समुदाय तहमा यौन, प्रजनन स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र प्रवर्द्धन गरिने।
  • जलवायु परिवर्तन सन्दर्भमा किशोरी सहभागिता विपद् व्यवस्थापनको सबै चरणमा किशोरी सहभागिता सुनिश्चित गरिने।
  • विद्यालयमा मर्यादित महिनावारी व्यवस्था महिनावारी आराम कक्ष र आवश्यक सामग्री सुनिश्चित गरिने।
  • गुणस्तरीय, समावेशी र अपाङ्गमैत्री शिक्षा अपाङ्गता भएका बालिकालाई लक्षित पूर्वाधार, सामग्री र तालिम सुनिश्चित गरिने।
  • खेलकुद तथा अतिरिक्त क्रियाकलापमा प्रवर्द्धन छोरीहरूको सक्रिय सहभागिताका लागि समुदायस्तरमा अवसरहरू सिर्जना गरिने।
  • उच्च शिक्षाका लागि छात्रवृत्ति र उत्प्रेरणा प्रदेश सरकारले सञ्चालन गर्दै आएको छोरी लक्षित छात्रवृत्ति कार्यक्रमलाई सबै तहसम्म विस्तार गरिने।

‘छोरीको सशक्तिकरण, कर्णालीको पुनर्निर्माण’ फाउन्डेसनकी अध्यक्ष ज्योति कटुवालले सम्मेलनमार्फत कर्णालीमा नयाँ युगको थालनी भएको बताउँदै भनिन्, “सबल छोरी नै कर्णालीको समृद्धिको आधार हुन्। हामी घोषणापत्रका प्रतिबद्धताहरूलाई व्यवहारमा उतार्न क्रियाशील रहनेछौं।”

घोषणापत्र कार्यान्वयनमा प्रदेश र स्थानीय सरकारसँगै संघीय सरकारसमक्ष पनि नीति, कार्यक्रम र बजेट व्यवस्थाका लागि दबाब दिइने आयोजकहरूको भनाइ छ।

 

तपाईको प्रतिक्रिया