
सुर्खेत । कर्णाली प्रदेश हुलाक निर्देशनालय सुर्खेतको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्बा गुरुङले नयाँ भवनको उद्घाटन गरेका हुन् ।
नयाँ भवनको उद्घाटन गर्दै मन्त्री गुरुङले हुलाक सेवा आधुनिक र प्रबिधिमैत्री बनाइने बताए । ‘हुलाक सेवा निकै पुरानो र महत्त्वपूर्ण भएकाले यसलाई आधुनिकीकरण गरी प्रविधि मैत्री बनाउन जरुरी रहेको छ,’ उनले भने,‘अब हुलाकको नीति परिवर्तन हुन्छ । हुलाकलाई प्रविधिमैत्री बनाउने विषयमा मन्त्रालय सधैँ संवेदनशील छ ।’
मन्त्री गुरुङले हुलाक जनसेवामुखी बनाउन कर्मचारीहरुलाई आग्रहसमेत गरे । ‘हुलाक सेवाको प्रभावकारिता केन्द्रमा रहेको गोश्वारा हुलाक कार्यालयबाट सुरु गर्नुहोस्,’ उनले भने,‘अरु स्थानीय तहका हुलाक कर्मचारीले आआफ्नो क्षेत्रमा सेवा प्रभावकारी बनाउनुहोस् ।’
निर्देशनालयको इतिहास
२०१८ सालमा पञ्चायती व्यवस्था लागु भएपछि त्यस अघिका ३२ जिल्लालाई पुर्न संरचना गरि १४ अञ्चल ७५ जिल्ला कायम गरियो । २०२८ सालमा समानुपातिक विकासको अबधारणा आएपछि ४ विकास क्षेत्रमा विभाजन गर्ने काम भयो । सुदूरपरिचमान्चल विकास क्षेत्रलाई दुई भागमा विभाजन गरी मध्यपश्चिमान्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र कायम गरेपछि मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय मुकाम सुर्खेतमा रहने व्यवस्था गरियो । वि.सं २०१८ पूर्व वर्तमानको सुर्खेत जिल्ला दैलेख गौडाको मातहतमा रहेकाले सुर्खेतको तिरोभारो सुरक्षा कायम गर्न र सञ्चार आदानप्रदान गर्न सुर्खेतकी गोडीकाँडाको टुनी गैरामा प्रहरी ठाना, मात अड्डा र छोटी हुलाक गरी तीन वटा कार्यालयहरू स्थापना भएका थिए । वि.सं. २०१९ सालमा ती सरकारी अड्डा विस्थापित भएपछि वि.सं. २०३२ सालमा वर्तमान सुर्खेतकी सिम्ताको बादेपिपलमा रहेको छोटी हुलाक कार्यालयलाई सुर्खेतमा स्थानान्तरण गरी जिल्ला हुलाक कार्यालयका रुपमा स्थापना गर्ने कार्य भयो ।


वि.सं. २०३७ सालमा सुर्खेतमा रहेकी जिल्ला हुलाक कार्यालयलाई मध्यपश्चिमाञ्चल क्षेत्रीय हुलाक निर्देशनालयका रूपमा स्थापना गरिएको थियो । लामो समयसम्म मध्यपश्चिमाञ्चल क्षेत्रीय हुलाक निर्देशनालयका रूपमा रहेको कार्यालय हाल हुलाक निर्देशनालयका रूपमा रहेको छ । भेरी, राप्ती र कर्णाली तीन अञ्चलका १५ जिल्लाको नियमक निकायका रूपमा रहेको हुलाक निर्देशनालय अन्तर्गत हाल तत्कालीन भेरीका तीनवटा जिल्ला (दैलेख, जाजरकोट र सुर्खेत), कर्णालीका पाँचवटा जिल्ला (मुगु, हुम्ला, जुम्ला, कालीकोट र डोल्पा) र राप्तीका दुई जिल्ला (रुक्मपश्चिम र सल्यान) गरि जम्मा १० जिल्ला रहेका छन् ।
हुलाक निर्देशनालयले हाल सुर्खेतका नौ स्थानीय तह हेर्दै आएको छ ।

नेपाल कर्म । २९ बैशाख २०८२, सोमबार १६:११