सुर्खेत । संसद विकास कोषको रकमबाट सल्यानमा सिँचाई कुलो र स्वास्थ्य संस्थाको भवन निर्माण गरिएको छ । पूर्व प्रदेश सभा सांसद गुलावजंग शाहले सल्यानको मरेसल्ला सिँचाई कुलो र सिम्तारामा भवन निर्माण गरेका हुन् ।

आर्थिक वर्ष २०७९-०८० मा विनियोजित बजेटमार्फत शारदा नगरपालिका–१५ मरेसल्ला सिँचाई कुलो निर्माण गरिएको शाहले नेपालकर्मलाई जानकारी दिए । उनकाअनुसार सिँचाई कुलो निर्माणमा १५ लाख रकम खर्च गरिएको छ ।


जिल्ला पूर्वाधार विकास कार्यालयबाट अनुदान १५ लाख र लाभग्राही नागरिकहरुबाट एक लाख ५० हजार रकम खर्च भएको शाहले बताए । आर.सि.सि.सहितको सिँचाई कुलो निर्माणबाट १२ जना नागरिकहरु लाभान्वित भएका छन् ।
२०७९ फागुनबाट निर्माण थालिएको कुलो २०८० बैशाख २९ गते सम्पन्न भएको हो । यता शारदा नगरपालिकाकै सिमतरामा २० लाख लागतमा स्वास्थ्य चौकीको भवन समेत संसद विकास कोषकै रकमबाट निर्माण गरिएको छ ।

नेपाल कर्म । ७ असार २०८०, बिहीबार ०८:४०