सुर्खेत । ९ असोज २०७५ मा वीरेन्द्रनगरमा ‘मेरा लागि स्मार्ट मोक्षघाट’ भन्दै धार्मिक महोत्सवको आयोजना गरियो । महोत्सवको मुख्य उदेश्य नै वीरेन्द्रनगर–११ स्थित भेरी नदी किनारामा नेपालकै व्यवस्थित विद्युतीय स्मार्ट शव गृह बनाउने लक्ष्य राखिएकाे हाे ।
त्यति मात्रै हैन् भेरी नदी किनारामा अहिले खुला रुपमा शव जलाउदा वन जंगलको विनाश तथा वातावरणीय प्रदूषणलाई नियन्त्रण गर्न सकिने तर्क राख्दै विद्युतीय शवदाह यन्त्रसहितको स्मार्ट आर्यघाट निर्माण गर्ने अभियान्ताहरु लागेका थिए ।

कम्तिमा २० देखि २५ करोड रुपैयाँको लागतमा भेरी किनारमा विद्युतीय शव दाह यन्त्रसहितको किरियापूर्ति कक्ष, श्राद्ध तथा पिण्ड तर्पण स्थल, शुद्ध शाकाहारी भोजनालयलगायतका आवश्यक संरचना निर्माण गर्ने योजना अनुरुप नै महोत्सव आयोजना गरिएको थियो ।

आठ दिनसम्म सञ्चालन गरिएको ‘भेरीगंगा समझीघाट साँस्कृतिक धार्मिक महा–महोत्सव’ मा हाताहाती २४ लाख नगद संकलन भयो । संकलिन रकममध्य महोत्सव सञ्चालनार्थ २० लाख खर्च भयो ।
बचत भएको चार लाख रकम अहिले पनि अक्षय कोषमा मौज्दात रहेको मोक्षघाट धाम व्यवस्थापन समिति सुर्खेतका अध्यक्ष कर्णबहादुर सिंजाली बताउँछन् । महोत्सव अवधिभर बागदान अर्थात् पछि दिन्छौं भन्ने बोली लगाउनेहरुबाट उठ्नुपर्ने रकम ४५ लाख छ ।
तत्कालिन जिल्ला समन्वय समितिका अध्यक्ष छविलाल सिग्देल संयोजक रहेको महोत्सव आयोजक मुल समितिले पछि दिन्छौं भन्नेबाट अहिलेसम्म रकम उठाउन सकेका छैनन् ।


प्रदेश राजधानी वीरेन्द्रनगरमा बढ्दो जनघनत्वले भेरीमा अन्तिम संस्कार गर्नेको संख्या बढ्दो छ । महोत्सव समितिले काम गर्ने छाट नदेखाएपछि अन्तत कर्णाली सरकारले दाहसंस्कार गर्ने स्थल सुधार गर्न लागेको छ ।

अव्यस्थित रुपमा भेरीमा शव जलाउनु पर्ने कठिन अवस्था रहेपछि प्रदेश सरकारले बजेट विनियोजन गरेर वीरेन्द्रनगर नगरपालिकाले निर्माण थालेको छ । एक करोड एक लाखमा ठेक्का व्यवस्थापन गरेर शवदाह गृह निर्माण भइरहेको मोक्षघाट धाम व्यवस्थापन समिति सुर्खेतका अध्यक्ष सिंजालीले नेपालकर्मलाई जानकारी दिए ।
‘जेठ मसान्तसम्म सक्नेगरी अहिले काम भइरहेको छ,’ सिंजाली भन्छन्, ‘सुख्खा समयमा शव जलाउन सहज भएपनि मुख्यगरी वर्षातमा सास्ती हुने गरेको थियो । निर्माणपछि केही सहज हुन्छ ।’
भेरी नदीको पुलदेखि पश्चिम दक्षिण क्षेत्रमा निर्माण गर्न लागिएको शवदाह गृहस्थलमा ६ वटा शवदाह निर्माण गरिनेछ । यीमध्य तीन ओटा खुला शवदाहस्थल बनाइनेछ । वर्षातमा नदीले क्षती नपु¥याउनेगरी बलियो संरचना निर्माण गरिने सिंजाली बताउँछन् । बाँकी तीन वटा पानी परेको बेला पनि जलाउन मिल्नेगरी ट्रससहितको शवदाहस्थल बनाइनेछ ।

सुशील खड्का । २८ बैशाख २०८२, आईतवार १७:०५