सुर्खेत । खडेरी कारण वीरेन्द्रनगरमा खानीपानी संकट चुलिएको छ । वीरेन्द्रनगरमा खानेपानी आपूर्ती गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले मुहानमै पानी घटेपछि पालो प्रणाली लागू गरेको हो । तर पालोअनुसार पनि नियमित पानी नआउँदा नागरिकहरुले सहजताका लागि खनेका कुवामा समेत पानी सुकेको छ ।
रैथाने धारा र कुवामा पानीका लागि नागरिकहरु घटौं लाइनमा बस्नु पर्ने बाध्यता छ भने, कतिपयले ट्यांकरबाट पानी ढुवानी गरेर दैनिकी टार्दै आएका छन् । तर वीरेन्द्रनगर नगरपालिका १० बेलघारीका नागरिकहरुलाई खडेरीमा नियमित खानेपानी पाइरहेका छन् ।


बेलघारीमा एक लाख ३० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण गरिएको हो । आयोजना सम्पन्न भएपछि यहाँका नागरिकहरुको घरघरमा दैनिक चार-चार घण्टा खानेपानी वितरण गरिँदै आएको छ । निर्माण सकेर २०७९ फागनुदेखि नागरिकहरूका लागि खानेपानी वितरण शुरू गरिएकाे हाे ।
नाजरेथ सोसाइटी र नवज्योती संस्थाको शुरुवाती सहयोगमा ट्यांकी निर्माण गरिएको हो । आयोजना अपूरै भएपछि बोरिङ निर्माणमा नगरपालिका र युएनडिपिले थप सहयोग गरेपछि खडेरीमा पनि नागरिकहरुको घर–घरमा नियमित खानेपानी वितरण गर्न सफल भएको बेलघारी खानेपानी तथा सरसफाइ उपभोक्त समितिका अध्यक्ष अकबर खान बताउँछन् ।
हाल यो आयोजनाबाट बेलघारीका दुई सय घरधुरीमा नियमित खानेपानी वितरण भइरहेको खानको भनाई छ । पाइप लाइन विस्तार गरेपछि यहाँका ५५३ घरधुरीमा नियमित खानेपानी पु¥याउने लक्ष्य रहेको खान बताउँछन् । यो आयोजनाबाट बेलघारी, गणेशपुर, पदमपुर, पशुपति नगर र धनपुर टोलमा पानी पु¥याउन खान आफै लागि परेका छन् ।

‘टोल टोलमा खानेपानी वितरण गर्न पाइप विछ्याउने कामलाई निरन्तरता दिइरहेका छौं,’ अध्यक्ष खानले भने, ‘अब थप तीन सय घरधुरीमा खानेपानी नियमित पु¥याउन काम भइरहेको छ ।’ उनकाअनुसार अब गणेश टोलमा खानेपानी वितरणका लागि निर्माण जारी रहेको छ ।
सिजनमा पनि प्रयाप्त खानेपानी धारामा नआउने भएपछि खानकाे नेतृत्वमा ओभरहेड ट्यांकी निर्माणकाे काम थालिएकाे हाे । ‘बर्खामा पनि यहाँका नागरिकहरूले खानेपानी नपाउने अवस्था थियाे । पालाे कुर्दा कहिले पानी आउने कहिले नआउने भएपछि ट्यांकी निर्माण गर्न जुटेका हाैं,’ खान भन्छन्, ‘सबैकाे साथ र सहयाेगे बेलघारीमै ओभरहेड ट्यांकी निर्माण सम्पन्न गर्दा आज नागरिकहरूका घर घरमा खानेपानी पुर्याउन सफल भएका छाैं ।’
‘संस्थासँग पाइप छैन्, दाताहरुबाट आवश्यक पाइप सहयोग मागेर उपलव्ध पाइपहरु विछ्याउँदै टोल–टोलमा खानेपानी पु¥याउने अभियानलाई निरन्तरता दिइरहेको छौं,’ अध्यक्ष खानले भने । अझै पाइपको अभाव रहेकाले ट्यांकीको क्षमताअनुसार सबै धारा वितरण गर्न कठिनाई भइरहेको उनी बताउँछन् । पाइपको जोहो गर्ने काम भइरहेको पनि संस्थाले जनाएको छ ।
आयोजनालाई व्यवस्थित बनाउन ६ हजार २० रुपैयाँमा नयाँ धारा जडान गर्दै आएको संस्थाले जनाएको छ । शुल्क भने सुर्खेत उपत्यका खानेपानी संस्थाहरु नै तोकिएको छ । सात दिनभित्र शुल्क बुझाएमा सात प्रतिशत छुट दिँदै आएको संस्थाले जनाएको छ ।

नेपाल कर्म । ७ असार २०८०, बिहीबार ०८:१६