छिन्चु बसपार्क अलपत्र पार्दै तीन कराेड भुक्तानी लिएर ठेकेदार वेपत्ता, सकिदै म्याद

सुर्खेत । कर्णाली प्रदेशको प्रमुख व्यापारिक नाका भएपनि बसपार्क अभावमा छिन्चु बजार अव्यवस्थित छ । कर्णाली राजमार्गमा पर्ने यो बजार क्षेत्रमा अव्यवस्थित पार्किङले विभिन्न समस्याहरु निम्त्याउँदै आएपछि छिन्चुमा बसपार्क निर्माणको काम थालिएको हो ।




भेरीगंगा नगरपालिका–१२ छिन्चु बजारदेखि उत्तरतर्फ वीरेन्द्रनगर र जाजरकोट जाने सडक किनारामा निर्माण भइरहेको ‘छिन्चु बसपार्क’ ३० असार २०७९ मा सम्झौता गरिएको थियो ।

सम्झौताअनुसार बसपार्क ३० असार २०८१ मा सम्पन्न गरेर अहिलेसम्म सञ्चालनमा आइ सक्नुपर्ने हो । तर निर्माण व्यवसायीको लापरवाहीका कारण बसपार्कको काम दुई महिनादेखि अलपत्र छ ।

बसापर्क निर्माणको जिम्मा श्री ग्राण्डी डिजाइन एण्ड कन्ट्रक्शन नेपालगञ्जले लिएको छ । १० करोड ९५ लाख २० हजारमा निर्माण सम्झौता गरेका सञ्चालकद्वय सागर नेपाल र गणेश उपाध्यायले झण्डै तीन वर्षमा ४५ प्रतिशत मात्रै काम गरेको भेरीगंगा नगरपालिकाका इन्जिनियर गणेश कार्कीले नेपालकर्मलाई जानकारी दिए ।

‘पछिल्लो दुई महिनादेखि उहाँहरु सम्पर्कमै आउनु भएको छैन्,’ ईन्जिनियर कार्कीले भने, ‘३० असार २०८२ सम्म यसको म्याद थप गरिएको छ । निर्माणमा उहाँहरुले चासो नदेखाएपछि नगरपालिकाले पत्र काट्दासमेत काममा फर्किनु भएको छैन् ।’

हालसम्म बसपार्क निर्माण स्थलमा सामानय फिलिङ्ग गरिएको, जाजरकोट सडक किनारामा रिटलिङ्गवाल लगाउन फाउण्डेशन तयार गरिएको र भवनको एक तला ढलानसम्म मात्रै काम भएको ईन्जिनियर कार्की बताउँछन् ।

हालसम्म काम भएको कामको सबै भुक्तानी दुई करोड ९७ लाख रुपैयाँ निर्माण कम्पनीले लगिसकेको छ । ‘रकममा कुनै समस्या छैन् । उहाँहरुले काम नगरिदिँदा चौतर्फी आलोचना बसपार्क बनिरहेको छ,’ कार्की भन्छन्, ‘समयमै काम सकाउन नगरपालिकाले समन्वय गर्दासमेत आउँछौं आउँछौं भन्ने तर फिल्डमा आउनु भएको छैन् ।’

बसपार्क निर्माणका लागि शहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत भेरीगंगा नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता गरिएको छ । प्रदेश राजधानीको पहिलो बजारमै अव्यवस्थित पार्किङ, दैनिक हुने सडक दुर्घटना, दुर्गन्धलगायतका कारण यहाँ प्रवेश गर्ने आन्तरिक तथा वाह्य पर्यटकहरु नकरात्मक धारणा बनिरहेको भन्दै नगरपालिकाले बसपार्क निर्माण अघि बढाएको हो ।

हाल बजारमा अव्यवस्थित रुपमा संचालन भैरहेको लामो तथा छोटा दुरीका सवारी साधनहरुलाई व्यवस्थित गर्न तथा आधुनिक पूर्वाधारयुक्त बसपार्क सेवा बनाउन खोजिएको नगरपालिकाले जनाएको छ ।

करिब ३३ रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको बसपार्कको लागत १८ करोड ५८ लाख विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख छ । योमध्य ७० प्रतिशत अर्थात् १३ करोड ७४ हजारको ऋण नगर विकास कोषबाट नगरपालिकाले लिएको छ ।

बाँकी ३० प्रतिशत रकम भने नगरपालिकाले व्यहोर्ने छ । विजनेस कम्प्लेक्ससहितको दुई तले भवन निर्माण गरिने बसपार्कमा एक सय २० वटा व्यापारिक सटरहरु रहने छन् ।

सुविधासम्पन्न ग्यारेज र रात्रीकालिन समयमा ३० देखि ३५ वटा बसहरु बसपार्कमा राख्न सकिनेगरी बसपार्क निर्माण अघि बढाइएको हो । छिन्चु बजार वीरेन्द्रनगरपछिको दोस्रो ठूलो बजार हो ।

तपाईको प्रतिक्रिया