डाँडीमाडी (दैलेख) । ६० को दशकसम्म बेउलीको लेकमा मंसिरको महिना आगो बल्दा दैलेखमा भनिथ्यो, ‘जुम्लाबाट हटारुले भेडा लिएर आइपुगे । जुम्लामा चिसो बढ्न थाल्यो बेशी झर्न हिडिसके ।’
बेउलीको लेकमा आइपुगेका हटारु र भेडी गोठाला दुई दिनपछि डाँडीमाडी आइपुग्थे । एउटा टोली डाँडीमाडीबाट रावतकोटहुँदै चुप्रा झथ्र्यो । अर्को टोली दुल्लुहुँदै तल्लो डुंगेश्वर । हुम्ला, मुगु, जुम्ला र कालीकोटका उत्तर पूर्वका नागरिकहरुको पैदल हटारु हिड्ने बाटो दुई वटा थिए ।
एउटा गाल्जे–चिलखाय–डिल्लिकोट–महावु लेक भएर दैलेख बजार झर्ने र अर्को थियो पान्तडी–कोट–हाउडीहुँदै बेउली लेक भएर डाँडीमाडी । सडक सञ्जाल नजोडिदासम्म हप्तौं लगाएर साविक माथिल्लो कर्णालीका चार जिल्लाका नागरिक हिड्ने हटारु बाटा प्रख्यात थिए ।


सडक सञ्जालको सुविधा माथिल्ला जिल्लामा पुग्दै गर्दा पैदलै पार गर्नुपर्ने बाटाहरु ओझेलमा परे । पैदल मार्चपास गर्नुपर्ने बाटाहरु मोडिए । कर्णाली तिरैतिर भएर सडक कालिकोटबाट तिला नदीको काखैकाख जुम्ला र मुगु पुगिसकेको छ । महिनौं लगाएर वेशी झर्नेहरु अहिले सहज सवारी आवागमनबाट सुगमका जिल्लाहरुमा दिनमै पुग्ने सकिन्छ ।
कुनै बेला पुर्खाहरु हिडेका तिनै हटारु बाटामासमेत अहिले सडक सुगमता पु¥याउन थालिएको छ । हटारु हिड्ने महावु लेक र बेउलीको लेकसम्म सडक पुगिसकेको छ । देश संघीय प्रणालीमा रुपान्तरणपछि पुर्खा हिडेको हटारु बाटोमा सडक सुविधा थपिएको छ ।

त्यसैमध्यको एक सडक हो दैलेखको माथिल्लो डुंगेश्वर–दुल्लु–बेउली–कालिकोटको पान्तडी । दैलेख र कालिकोटको सीमाना हो बेउली लेक । त्यहीँ लेक छिचोलेर सडक साविक कर्णाली राजमार्ग मान्म–नाग्म (हाल राष्ट्रिय राजमार्ग–६१) सडकको कालिकोटस्थित पान्तडीमा जोडिएको छ ।
हटारुले पैदलै पछ्याउने यहीँ सडक नेपाल–चीनसँगको सिमाना मुगुको नाक्चेनाङ्गला जोड्ने गरी काम अघि बढाइएको छ । सडक जोड्न हतार गर्ने तर त्यसको दीर्घकालिन व्यवस्थापनमा चुक्दा नागरिकमा निराशा छ ।

जेठ २०७५ मा माथिल्लो डुंगेश्वर–दुल्लु–पान्तडी–नाग्म–मुगु सडकको शिलान्यास गरियो । कर्णालीका तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र सांसद अमरबहादुर थापासहितको टोली माथिल्लो डुंगेश्वर पुगेर तमझमका साथ डोजर चलाएर सडक शिलान्यास गरेका थिए ।
माथिल्लो डुंगेश्वर–दुल्लु–भैरवी–ब्याउली–कालीकोट–जुम्ला–मुगु गमगढी हुँदै नाक्चेलाग्ना जोड्ने सडकलाई त्यो बेला नै कर्णाली सरकारले प्रादेशिक सडक नामाकरण गरेको हो ।
अहिले मात्रै प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा स्वीकृत गरेको प्रादेशीक सडक सञ्जाल गुरुयोजनामा यो सडकलाई प्रदेश राजमार्गको मान्यता दिएको छ । दैलेखमा माथिल्लो डुंगेश्वर–दुल्लु–बेउली कालिकोट १५ किलोमिटर र कालिकोटमा शेरी–पान्तडी १७ किलोमिटर सडक प्रदेश राजमार्गमा समावेश छ ।

माथिल्लो डुंगेश्वर दह सडकले दुल्लु नगरपालिका, भैरबी गाउँपालिका र कालिकोटको शुभकालिका गाउँपालिकाको पान्तडी जोड्छ । कालिकोटसँग सडक जोडिएपनि शुरुवात विन्दुमा अपेक्षाकृत काम हुन सकेको छैन् ।
२०७४ साउन २७ गते ठेक्का सम्झौता गरिएको सडक शिलान्यास भएकै झण्डै आठ वर्ष वितेको छ । तर सडकको दूरावस्था कछुवा चाल छ । शुरुमा २०६९ सालमा माथिल्लो डुंगेश्वरबाट बैक बजार जोड्ने उदेश्यले सडकको ट्र्याक खोलिएको हो ।

२०७३ सालमा बैक बजारसम्म सडक पुगेपनि स्थायी रुपमा सवारी गुडेका थिएनन् । माथिल्लो डुंगेश्वरदेखि भन्दा छिउडीहुँदै बैक बजारसम्म २०६९ अघि नै सडकको ट्«याक खुलाइएको हो ।

‘पैदलै माथिल्लो डुंगेश्वर झर्नुपथ्यो । सडक बन्ला भन्ने त्यो बेला परिकल्पना गरिएन्,’ दहका अर्जुन दाहाल भन्छन्, ‘धेरैपछि सडकको ट्«याक खुल्न थालेपछि केही सहज होला की भन्ने आशा जगाएको थियो । सडक बनेकै लामो समय वित्दा स्तरोन्नति नहुँदा यात्रामा सकस छ ।’
प्रादेशीक सडक नामाकरण गरेर शुरुमा उत्साह थपिएको यो सडकले अपेक्षाकृत गति अझै लिन सकेको छैन् । छिमेकी राष्ट्र चीन र नेपालको सीमाना नाक्चेलाग्ना पु¥याउने लक्ष्य राखिएको सडकको शुरुवाती निर्माण गति थलिदा सरकारप्रति प्रश्न चिन्ह तेर्साएको छ ।
सडक डिभिजन सुर्खेतले ट्र्याक खोलिदिएको सडक २०७४ मा प्रदेश संरचना व्युतिएपछि प्रदेश सरकार मातहत ल्याएर निर्माण थालिएको हो । माथिल्लो डुंगेश्वर–दह–बैक खण्डमा अहिले दुई प्याकेजमा काम भइरहेको छ ।
पहिलो खण्डमा माथिल्लो डुंगेश्वर–दह सात किलोमिटर सडक निर्माणको जिम्मा मोतिदानले पाएको छ । १५ करोड ५८ लाख लागत रहेको सडक पछिल्लो पटक पूर्वाधार विकास कार्यालय दैलेखले असारसम्म कालोपत्रे सक्नुपर्ने भन्दै म्याद थप गरिदिएको छ ।
निर्माण व्यवसायीको ढिलासुस्ती र कार्यालयविच समन्वय अभावले सडकले गति लिन सकेको छैन् । घुम्ती (मोड) बढी रहेको सडकमा आरसीसी ढलान र नालाहरु निर्माण गरिएको छ । निर्माण गरिएका नालाहरु भत्किने गरेको स्थानीय बताउँछन् ।
‘सडक कालोपत्रेका लागि नदी जन्य पदार्थको अभावहुँदा निर्माणमा विलम्ब भइरहेको छ,’ पूर्वाधार विकास कार्यालय दैलेखका प्रमुख ईन्जिनियर प्रविण कार्की भन्छन्, ‘यो असारसम्म सक्नेगरी निर्माण व्यवसायीलाई ताकेता गरेका छौं, अब जसरी पनि सक्छौं ।’
दह–बैक खण्डको २ किलोमिटर सडक कालापेत्रको जिम्मा गंगामाला निर्माण सेवाले जिम्मा लिएको छ । २०७९ मा निर्माण जिम्मा लिएको गंगामालाले आगामी जेठ १५ सम्म कालोपत्रे सक्ने वचन दिएको पूर्वाधार कार्यालय दैलेखका ईन्जिनियर जीवन सिंह बताउँछन् ।
‘यो सडक निर्माण ढिलाइ हुनुको प्रमुख कारण नै निर्माण व्यवसायीको ढिलासुस्ती हो,’ सिंह भन्छन्, ‘धेरै ढिला भइसकेको छ । यो पटक जसरी पनि सक्ने लक्ष्य राखेका छौं ।’
पूर्वाधार कार्यालयले माथिल्लो डुंगेश्वरदेखि दहसम्म जम्मा नौ किलोमिटर मात्रै सडकमा काम गरेको छ । दहदेखि बैक बजारसम्मको सडकमा काम अपूरै छ । बैंक–छिउडी बालेबजारसम्म यसअघि नै सडक कालोपत्रे गरिएको छ ।
बालेबजार–सातखम्ब–रातिमाटा सडक कालोपत्रेका लागि सडक डिभिजन सुर्खेतले ठेक्का व्यवस्थापन गरेर काम भइरहेको छ । रातिमाटा–चाँदनी चोकसम्म सडक कालोपत्रे छ ।
चाँदनी चौक–घियातिदु (मध्य पहाडी राजमाग) जोड्ने सडक कालोपत्रे गर्न निर्माणकै चरणमा छ । चगत्रा बजार–डाँडीमाडी–सिलंगी–घुम्नेखाली–डाँडासरु सडक कच्ची छ । प्रदेश राजधानी वीरेन्द्रनगरबाट दैलेखको कुसापानीसम्म कर्णाली राजमार्गको तल्लो डुंगेश्वरबाट सवारी तल्लो डुंगेश्वर–दुल्लु सडक भएर पुग्ने गरेका छन् ।
जब खगेन्द्र र लालबहादुरको पहलमा पुल बन्यो….
माथिल्लो डुंगेश्वर–दह जोड्ने सडकको परिकल्पनाकार स्थानीय लालबहादुर खत्री हुन् । दुल्लु रनुखानाका रिजाल लगानी बोर्डमा र खत्री अर्थ मन्त्रालयमा उप–सचिवहुँदा लोहोरे खोलामा पुल निर्माणको योजना पारेका थिए ।
पक्की पुल निर्माण हुनुपूर्व लोहोरे खोलाबाट डोजर तारेर २०६९ बाटै सडक निर्माण थालिसकिएको थियो । पक्की पुल निर्माणसँगै दह–हुँदै बैक जोड्ने सडकले गति लिएको स्थानीय बताउँछन् । सडक निर्माणले गति लिएमा सुर्खेत वीरेन्द्रनगरबाट मुगुको रारा ताल, जुम्ला पुग्नका लागि उत्तरी छिमेकी चीन जोड्ने छोटो मार्ग हुनेछ ।

सुशील खड्का । २७ बैशाख २०८२, शनिबार २०:४०