
सुर्खेत । सुर्खेतमा भोली शनिबारबाट तिन दिनसम्म ‘कर्णाली छोरी सम्मेलन– २०८२’ हुने भएको छ । श्री ज्योति फाउन्डेसन र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा बैशाख २७, २८ र २९ सम्म त्रिदिवसीय ‘कर्णाली छोरी सम्मेलन– २०८२’ हुने भएको हो ।

कर्णालीका छोरी सशक्तीकरण अभियानको माध्यमबाट सचेत, सवल, सक्षम तथा आत्मनिर्भर कर्णालीका छोरीहरूको निर्माण र विकासमा सघाउ पु¥याउनु हाम्रो उद्देश्य रहेको छ । कर्णाली प्रदेशमा आयोजना हुन लागेकोे छोरी सम्मेलन यस स्वरूप र प्रकृतिको पहिलो सम्मेलन हो ।
सम्मेलन एक सम्मेलन मात्र नभएर कर्णालीका छोरीहरूको चेतना जागृत गर्ने र स्वप्निल बन्न सिकाउने एक सामाजिक सन्देश प्रवाह गर्ने जमर्को गरेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए । ‘कर्णालीमा महिलाका समस्या निकै धेरै रहेका छन्,’ उनले भने,‘यस सम्मेलनले यहाँ रहेका महिलाका बिषयमा आवाज उठाउने उनीहरुका समस्याका बिषयमा जानकारी लिनेछ ।’

कर्णालीमा लैङ्गिक मुद्दाहहरु धेरै रहेका कारणले भावी दिनमा नीति तथा कार्यक्रम बनाउन सजिलो बनाउनका छोरी सम्मेलनको आयोजना गरिएको मन्त्री भण्डारीले जानकारी दिए । ‘यो सम्मेलन कर्णालीका छोरीहरू सशक्तिकरणको एक गतिशील अभियान हो,’ उनले भने,‘कर्णालीका छोरीहरू आफैंमा कमजोर नभई अधिकार र अवसरबाट बन्चित भएको कारणबाट नै कमजोर देखिएका हुन् भन्ने वास्तविकताको वोध गर्नु र गराउनु पनि यस सम्मेलनको मूल द्येय हो ।’

कर्णालीका छोरीहरूलाई आफ्नो हक र अधिकार बोध गराउने र तिनीहरूको जीवन रूपान्तरणको माध्यमबाट कर्णालीको समुज्ज्वल भविष्यको चित्र कोर्ने अभिप्रायले आयोजना हुन लागेको यस सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहबाट २÷२ जना प्रतिनिधिहरू तथा सीमान्तकृत र लोपोन्मुख राउटे, राजी, बादी र बोटे समुदायबाटथप दुई दुईजना गरि करिब २०० जना छोरीहरूको सहभागिता रहने आयोजक श्री ज्योती फाउण्डेसनका अध्यक्ष ज्योती कटुवालले बताइन् । ‘आ–आफ्नो स्थानीय तह, क्षेत्र तथा समुदायको प्रतिनिधित्व गर्ने छोरीहरूले यस सम्मेलनमार्फत आफ्ना आवाजहरू मुखरित गर्ने अवसर पाउँने छन्,’ उनले भनिन्,‘सम्मेलनमा हरेक दिन छोरीका मनका कुरा, प्रवचन तथा बहस कार्यक्रमहरू संचालन हुनेछन् ।’
‘छोरीका मनका कुरा’ शीर्षकमा सहभागी छोरीहरूले आफ्ना भोगाईहरू सुनाउने, सिर्जनशील छोरीहरूलाई उनको प्रतिभा प्रस्तुत गर्ने अवसर पनि प्रदान गरिने अध्यक्ष कटुवालले जानकारी दिइन् । ‘प्रवचन कार्यक्रममा ‘छोरीहरूको जीवन रूपान्तरण’ शीर्षकमा विज्ञ व्यक्तित्वबाट व्याख्या, विश्लेषण हुनेछ । सम्मेलनमा हरेक दिन बिभिन्न शीर्षकमा बहस सत्रहरू संचालन हुनेछन् । बहसकाविषयहरू छोरीहरूको सशक्तीकरण र जीवन रूपान्तरणसंग संवन्धित हुनेछन्,’ उनले भने,‘बहस सत्रहरूहरूमा राजनीतिमा कर्णालीका छोरी, शिक्षित छोरी किन जरूरी ?, स्वस्थ छोरी, स्वस्थ कर्णाली, कर्णालीका सारथि, कानुनी सेवामा कर्णालीका छोरी, कर्णालीका खेलाडी छोरी, महिनावारीका सकस, आमाका कुरा, महिनावारीको सकस, हामी सक्छौं तथा कर्णालीका कोइली, कर्णालीका न्याउली शीर्षकहरूमा बहस हुने छ ।’
सबै सत्रहरूमा कर्णालीलाई जन्मथलो, थातथलो र कर्मथलो बनाउने कर्णालीका सन्ततीहरूलाई मौका दिईएको अध्यक्ष कटुवालले बताइन् । ‘यो सम्मेलन पहिलो संस्करण हो । यसपटक मौका नपाएका कर्णालीका छोरीहरूले अर्कोपटक मौका पाउने छन्,’ उनले भनिन् ।
नेपाल कर्म । २६ बैशाख २०८२, शुक्रबार १८:२०