
बिबिसी । भारत–प्रशासित कश्मीरमा रहेका आफ्ना तीन सैन्य अखडामा क्षेप्यास्त्र तथा ड्रोन हमला गरिएको आरोप भारतीय सेनाले लगाएको छ । तर पाकिस्तानले त्यसको खण्डन गरेको छ ।

भारतीय सेनाको अतिरिक्त लोक सूचना महानिदेशालय (एडीजी पीआई)का अनुसार पाकिस्तानी सेनाले मे ८ को मध्यरातपछि पश्चिमी सीमामा गरेको थियो । जम्मू तथा उधमपुर अनि पन्जाब राज्यको पठानकोटमा रहेका भारतीय सैन्य शिविरमा पाकिस्तानले गरेको हमलाको यत्नलाई विफल बनाइएको दाबी पनि भारतीय सेनाले गरेको छ ।
‘पाकिस्तानी सशस्त्र फौजहरूले ८ र ९ मे २०२५ को आधा राति पूरै पश्चिमी सीमामा ड्रोन र अन्य अस्त्र प्रयोग गर्दै हमला गरे । पाकिस्तानी सैनिकहरूले जम्मू तथा कश्मीरमा नियन्त्रण रेखामा कैयौँ पटक युद्धविराम पनि उल्लङ्घन गरे,’ भारतीय सेनाले सामाजिक सञ्जाल एक्समा एउटा भिडिओ शेअर गर्दै लेखेको थियो ।

पाकिस्तानका रक्षामन्त्रीले ती हमलामा आफूहरू जिम्मेवार नभएको बताए ।
‘हामी त्यसलाई अस्वीकार गर्छौँ। हामीले यतिन्जेल केही आक्रमण गरेका छैनौँ,’ रक्षामन्त्री खवाजा आसिफले भने । ‘हामी आक्रमण गर्ने अनि त्यो अस्वीकार गर्ने गर्दैनौँ ।’
बिहीवार साँझ जम्मू नगरमा विस्फोटनका विवरण आएका थिए । त्यतिखेर त्यहाँ बिजुली थिएन ।
यसअघि भारतले बिहीवार पाकिस्तानका हवाई प्रतिरक्षा प्रणालीमा हमला गरेर नष्ट गरिदिएको बताएको छ ।
इस्लामाबादले बुधवार राति भारतका सैन्य स्थलमा प्रहार गर्न खोजेकाले उक्त कारबाही गरिएको भारतले भनेको छ ।
बुधवार आफ्ना क्षेत्रमा भारतले क्षेप्यास्त्र प्रहार गरेपछि दिल्लीले थप आक्रमणकारी कार्य गरेको पाकिस्तानले भनेको छ ।
पाकिस्तानी सेनाका प्रवक्ताले भारतले प्रहार गरेका ड्रोनलाई ठाउँठाउँमा निस्तेज पारिएको बताए ।
‘गत राति भारतले थप आक्रमणकारी कार्य गर्दै विभिन्न ठाउँमा ड्रोन पठायो,’ लेफ्टिनन्ट जेनरल अहमद शरिफ चौधरीले भने । ‘ती ठाउँहरू लाहोर, गुजरानवाला, चकवाल, रावलपिन्डी, अटक, बहावलपुर, मियानो, चोर अनि कराचीनजिक थिए ।’
लाहोरमा चार सैनिक घाइते भएको अनि सिन्ध प्रान्तमा एक गैरसैनिक मानिस मारिएको पनि उनले बताए ।
लाहोरस्थित अमेरिकी वाणिज्य दूतावासले आफ्ना कर्मचारीहरूलाई सुरक्षित शेल्टरमा रहन भनेको थियो ।
पाकिस्तानले आफ्नो हवाई क्षेत्रबाट व्यावसायिक उडान नगर्न सुझाव दिएको छ । क्षेप्यास्त्र वा हवाई हमलाले तिनलाई जोखिम हुन सक्ने उसले बताएको छ ।

भारतका विदेशमन्त्री एस जयशङ्करले युद्ध भड्काउने कुनै पनि कदमको दृढ प्रतिरोध गरिने चेतावनी दिएका छन् ।
भारतले उसका पछिल्ला कारबाही पाकिस्तानले उत्तर तथा पश्चिम भारतमा रहेका उसका सैन्य अखडालाई निसाना बनाउन खोजेपछि गरिएको बताएको छ ।
‘लाहोरको हवाई प्रतिरक्षा प्रणाली नष्ट पारिएको भरपर्दो जानकारी प्राप्त भएको छ,’ भारतीय रक्षा मन्त्रालयको विवरणमा उल्लेख छ । पाकिस्तानले त्यसलाई अस्वीकार गरेको छ ।
दुई देशले दिएका विवरणहरूको स्वतन्त्र पुष्टि भएको छैन ।
भारतले बुधवार पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा गरेको प्रहारपश्चात् अन्तर्राष्ट्रिय समुदायले तनाव मत्थर पार्न आह्वान गरिरहेका छन् ।
यी आक्रमणका घटना अनि सीमा वारपार गोलाबारी तीव्र भइरहँदा परमाणुशक्तिसम्पन्न दुई छिमेकी विस्तारित युद्धमा जाकिने त्रास बढेको छ ।
भारत र पाकिस्तानबीच विगत दुई दशकयताकै यो सबभन्दा खराब टकराव भएको बताइएको छ ।
एप्रिल २२ मा भारत प्रशासित कश्मीरको पहलगाममा आतङ्कवादीहरूले २६ पर्यटकहरूको ज्यान लिएपछि भारतले बुधवार आतङ्ककारीहरूको गढमा आक्रमण गरेको बताएको छ ।
तर पहलगाम हमलाकरीहरूलाई आफूले सरसहयोग गरेको भन्ने भारतीय दाबीलाई पाकिस्तानले अस्वीकार गरेको छ ।
पहलगाम घटना गैरसैनिकहरूविरुद्ध लक्षित वर्षौँ यताकै सबभन्दा खराब आक्रमण हो। त्यसमा मारिनेमा २५ जना भारतीय र एक जना नेपाली नागरिक थिए ।
भारत–प्रशासित कश्मीरमा दशकौँदेखि भारतीय शासनविरुद्ध विद्रोह चलिरहेको छ जसमा हजारौँले ज्यान गुमाएका छन् ।
सन् १९४७ मा ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएका भारत र पाकिस्तानका बीच त्यतिबेलादेखि नै कश्मीर एउटा प्रमुख विवादको विषय बन्यो । दुवै देशले सम्पूर्ण कश्मीरी भूभाग आफ्नो दाबी गर्छन् र यसका लागि दुईवटा युद्ध लडिसकेका छन् ।
नेपाल कर्म । २६ बैशाख २०८२, शुक्रबार १०:४६