
सुर्खेत । दैलेखमा करेन्ट लागेर मृत्यु भएका नगेन्द्र माझीका आफन्तले विद्युतले क्षतीपूर्ती दिने सहमतिमा अवरुद्ध गरिएको कर्णाली राजमार्ग सुचारु भएको छ । सदरमुकाम दैलेख बजारदेखि पश्चिममा पर्ने राकम कर्णालीमा करेन्ट लागेर माझीको आइतबार साँझ मृत्यु भएपछि आफन्तले आज विहानैबाट कर्णाली राजमार्ग अवरुद्ध गरेका थिए ।

नेपाल विद्युत प्राधिकरण कालिकोट, प्रहरी र पीडित परिवारसँगको सहमतिमा बन्द भएको राजमार्ग सञ्चालनमा आएको ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले नेपालकर्मलाई जानकारी दिए ।

सहमतिमा मृतक परिवारका एक सदस्यलाई रोजगारी दिने र कानुनअनुसार पाउने क्षतीपूर्तीमध्य एक लाख काजकिरियाका लागि रकम उपलव्ध गराउनेसमेत सहमति भएको उनको भनाई छ ।

पीडित परिवारसँग सहमति भएसँगै सोमबार विहानैबाट राकम कर्णाली बजारमा अवरुद्ध राजमार्ग सञ्चालनमा आएको खड्काले जनाए । आठबिस नगरपालिका—४, राकमका २९ वर्षीय माझी आइतबार साँझ घाँस काट्ने क्रममा करेन्ट लागेको थियो ।
माझि चढेको रुखमा विद्युतको तारले छोएको र करेन्ट प्रवाह हुँदा उनको घटनास्थलमै मृत्यु भएको खड्काले बताए । मृतक माझीको शव पोष्टमार्टमका लागि दुल्लु अस्पताल ल्याउन लागिएको छ ।
नेपाल कर्म । २२ बैशाख २०८२, सोमबार १०:५७