

सुर्खेत । कोशी प्रदेशको लगानी सम्मेलन अवलोकनपछि धनकुटा र सुनसरीको सङ्गमस्थल पर्यटकीय क्षेत्र भेडेटार घुम्न पुगे कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा साहसिक पर्यटनको प्रशस्तै संम्भवना रहेको बताएका छन् ।
भेडेटारको चिसो मौसम, डाँडाकाँडा र पर्यटकलाई आकर्षित गर्न बनाइएका भौतिक संरचना देखेर मुख्यमन्त्री कँडेललाई कर्णालीको पर्यटन क्षेत्रमा लगानी गर्न सके प्रशस्तै सम्भावना रहेको बताएका हुन् ।

भेडेटारस्थित ‘स्काइवक’ अवलोकनपछि मुख्यमन्त्री कँडेलले आफ्ना क्षेत्रमा समेत सहासिक पर्यटनमा प्रशस्तै सम्भावना भएको सुनाए ।

भेडेटारको ‘स्काइवक’ निर्माण गर्ने कम्पनी ‘वन्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्रयाक्सन्स प्रालि’लाई कर्णालीमा लगानी गर्न आग्रह गरे ।
उनले प्रदेश सकारका तर्फबाट गर्न सक्ने सबै सहजीकरण गर्न तयार रहेको सुनाए । मुख्यमन्त्री कँडेलले स्काइवकमा हिँड्दा ‘एडभेन्चर फिल’ भएको अनुभव साटे । ‘डरसँगै खुसीको अनुभव भयो,’ उनले भने ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–४ र धरान उपमहानगरपालिका–६ को सङ्गमस्थल भेडेटारस्थित चार्ल्स प्वाइन्टमा २० करोड रुपैयाँको लागतमा स्काइवक निर्माण भएको छ ।
नेपाल कर्म । २० बैशाख २०८२, शनिबार १३:४८