बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न एकीकृत समाजवादीको माग


सुर्खेत । नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीले बाँके र बर्दियालाई कर्णालीमा गाभ्न माग गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवमार्फत मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइदिन पेश गरेकाे ५१ बुँदे माग पत्रमा लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लालाई कर्णालीमा गाभ्न माग गरेको हो ।



एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटीका अध्यक्ष ठगेन्द्र प्रकाश पुरी नेतृत्वको टोलीले कर्णालीका मुख्यमन्त्री कँडेललाई मागपत्र बुझाउन गएपनि उहाँ बाहिर रहेकाले सचिवमार्फत सुशासन, रोजगारी र विकाससँग सम्बन्धित मागपत्र बुझाएको  बताए ।

मागपत्रमा नेपालको स्वतन्त्रता सार्वभौमिकता, भौगोलिक अखण्डता कायम राख्न उत्तरी क्षेत्रहरूका अन्तर्राष्ट्रिय सीमाहरूको यथोचित व्यवस्थापन गर्नुपर्ने, बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा रहने गरी सीमा विस्तार प्रक्रिया अघि बढाउनुपर्ने तथा संविधानमा रहेका मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेलगायत रहेको अध्यक्ष पुरीले जानकारी दिए ।

‘पार्टीको केन्द्रीय निर्देशनअनुसार ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ का सन्दर्भमा ७७ वटै जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएकाे हाे,’ उनले भने,‘प्रदेशका समस्या, वस्तुस्थिति, बाटो, बिजुली, उत्पादन, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन, पारदर्शिता, जवाफदेहीता लगायतका पक्षहरू समेटेका छौं ।’

तपाईको प्रतिक्रिया