सुर्खेत । ठेक्का आह्वान भएको झण्डै ६ वर्षपछि बर्दिया राष्ट्रिय निकुञ्जले मुलपानी–तेलापानी–भुरिगाउँ सडक निर्माणका लागि सहमति दिएको छ । ठेक्का व्यवस्थापन हुनु अगावै सल्टाउनु पर्ने प्रक्रिया पूरा नगरेर सडक निर्माण थाल्दा अलपत्र परेको सडक बनाउन अन्तत निकुञ्जले अनुमति दिएको हो ।

निकुञ्जले पहिलो चरणमा बराहताल गाउँपालिका–२ को श्रीचौरदेखि तेलपानीको देउरालीसम्म सडक क्षेत्रका रुखको लगत संकलन गरेर प्रतिवेदन पूर्वाधार विकास निर्देशनालय सुर्खेतलाई बुझाएको छ ।
डिभिजन वन कार्यालय भेरी बावियाचौर सुर्खेतको क्षेत्राधिकारमा पर्ने रुखहरुको लगत यसअघि नै निर्देशनालयमा बुझाइसकिएको छ । निकुञ्जकै कारण ढिला रानीघाट–मुलपानी सडक किनाराका रुख हटाउन अन्तिम प्रतिवेदन नदिँदा काम रोकिएको थियो।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने श्रीचौरबाट तेलपानीसम्मको सडक किनाराका रुखहरु हटाउन अन्तिम प्रतिवेदन निर्देशनालयलाई बुझाएपछि निर्माण प्रक्रिया आरम्भ हुने झिनो आशा देखिएको छ ।
निकुञ्जले मध्यवर्ती क्षेत्रमा पर्ने चार हजार एक सय रुखहरु काट्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ । २०७८ सालमै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत भएको हो ।
तर वन नियमावली २०७९ संशोधन गरिएको छ । संशोधित नियमावली बाधक नभए अब रुख कटानको प्रक्रिया संघीय सरकारको मन्त्रीपरिषद् बैठकमा जानेछ । त्यसपछि रुख कटानको प्रक्रिया शुरु हुनेछ ।
‘काट्नुपर्ने चार हजार ४८४ रुखहरुको प्रतिवेदन फायल वन विभागमा पठाइसकेका छौं,’ निर्देशनालयका निर्देशक सूर्यबहादुर शाहीले भने, ‘डिभिजन वनका ३८४ र निकुञ्जको मध्यवर्ती क्षेत्रका चार हजार एक सय रुख काट्नुपर्नेछ । अन्य अल्झन नभए एक वर्ष भित्रमा सडक निर्माण सकिन्छ ।’
निर्देशनालय सडकको मध्यविन्दुबाट दायाँ बायाँ ११ मिटर चौडा बनाउन लागेको हो । तर निकुञ्जले सडकको दायाँ–बायाँ १५–१५ गरी ३० मिटरसम्मकै रुखको लगत प्रतिवेदन तयार गरेर बुझाएको छ ।
चार वर्ष पहिले गरिएको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा कतिपय रुख साना थिए अहिले हुर्किसकेका छन् । संशोधित वन नियमावलीअनुसार वन विभागले पुनः ईआईए गर्नुपर्ने भनेमा काम लम्बिनेछ ।
निर्माण व्यवसायी नै रुख कटानको प्रक्रिया स्वीकृत गराउन खटिएका छन् । सकेसम्म पुरानै ईआईए प्रविदेनअनुसार प्रक्रिया अघि बढे वर्षौंदेखि पैदल यात्रामा वीरेन्द्रनगर आउन बाध्य तेलपानीसहितका नागरिकहरुले पक्की सडकमा यात्रा गर्न पाउनेछन् ।
संघीय वन मन्त्रालयमा सबै प्रक्रिया पूरा गरेर फाइल पुगिसकेकाले चाडै नै रुख कटान र जग्गा भोगाधिकारको स्वीकृती प्रदान हुनेमा निर्देशनालय विश्वस्त छ ।
पटक पटक संघीय सरकारले बर्दियाको भुरीगाउँ जोड्ने छोटो सडक निर्माण गर्न प्राथमिकतामा राख्दै आएको थियो । तर काम प्रभावकारी रुपमा अघि नबढेपछि कर्णाली प्रदेश सरकारले अपनत्व लिएर कर्णाली र लुम्बिनी प्रदेशलाई जोड्ने मुलपानी–रानिघाट–तेलपानी–भुरीगाउँ सडक निर्माणका लागि अघि सारेको हो ।

आर्थिक वर्ष २०७६-०७७ यता कर्णाली सरकारले यो सडकलाई प्राथमिकतामा राख्दै आएको छ । तर, प्रगति भने निराशाजनक छ । २०७६-०७७ मा दुई खण्डमा विभाजन गरेर सडक निर्माणको ठेक्का भएको थियो ।
वीरेन्द्रनगरकाे मुलपानीदेखि तेलपानीसम्म सडकको दुरी २८ किलाेमिटर हाे । तर रानिघाट तेलपानी खण्डकाे १८ किलोमिटर सडक स्तरोन्ती गर्न पूर्वाधार निर्देशनालय सुर्खेत र थोदुङ्ग-जागृति जेभीबीच १६ असार २०७७ मा ठेक्का सम्झौता भएको थियो ।
२२ माघ २०८२ सम्म निर्माण सम्पन्न गर्ने गरी १३ करोड २६ लाखमा सम्झौता भए पनि हाल रुख कटान र जग्गा भोगाधिकारको अनुमति प्राप्त नहुँदा काम अघि बढ्न सकेको थिएन् ।
पहिलो खण्डअन्तर्गत वीरेन्द्रनगर उपत्यकाको मूलपानीबाट रानीघाटसम्म १० किलोमिटर सडक स्तरोन्नतीका लागि ९ पुस २०७६ मा पूर्वाधार निर्देशनालय र श्याम एन्ड शंकर कन्स्ट्रक्सनबीच १० करोड २६ लाख ६१ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
८ फागुन २०७८ सम्म निर्माण सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको भए पनि सडकले पूर्णता पाएन । यही खण्डमध्येको केही उपखण्ड स्तरोन्नती गर्न २०७९ माघमा अर्को निर्माण कम्पनीसँग दुई करोड ७५ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
१३ मंसिर २०८० सम्ममा काम पूरा गर्ने सर्त भए पनि हालसम्म सात सय मिटर मात्र कालोपत्र भएको छ । भेरी नदीमा पुल नहुँदा बाटो मर्मत गर्न डोजर लैजान समस्या हुने भएपछि वडाले चार जना पिटौलीमार्फत अहिले रानीघाट–तेलपानी सडक मर्मत गर्दै आएको बराहताल गाउँपालिका– १ का वडाध्यक्ष बमबहादुर बडुवालले जानकारी दिए ।
निकुञ्जले निकाश दिएकाले अन्तर प्रदेश जोड्न मुलापानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडकले गति लिनेमा विश्वास जागेको बडुवाल बताउँछन् । ‘अब कुनै अल्झन नभए कम्तिमा एक वर्षमा तेलपानीको देउराली डाँडासम्म सडक राम्रो बन्नेछ,’ वडाध्यक्ष बडुवाल भन्छन्, ‘निर्माणाधिन रानिघाटस्थित भेरी नदीको अलपत्र पुलले गति लिएको भए राजधानीसँगको झण्डै २८ किलोमिटरदुरी एक घण्टामा छोट्टिने थियो ।’
तेलपानीदेखि भुरिगाउँ जोड्ने सडक खण्ड निकुञ्ज पर्दछ । भुरिगाउँतर्फबाट आउने सडक तेलपानी डाँडासम्म जोड्न मात्रै एक किलोमिटर बाँकी छ । सुर्खेततर्फ पक्कि सडक निर्माण भए निकुञ्जलाई सडक जोड्न दवाव बढ्ने र भरिगाउँ तेलपानी सडक खण्डले गति लिनमा स्थानीय विश्वस्त छन् ।
बर्दियासँग यो सडक जोडिए सुदूरपश्चिम र कर्णाली प्रदेशको लाइफलाइनका रूपमा विस्तार हुनेछ । भुरीगाउँबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको दूरी ५१ किलोमिटर छ । यो सडक विस्तार भए भुरीगाउँबाट वीरेन्द्रनगर २ घण्टाभित्रै पुग्न सकिन्छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–२ भुरीगाउँको अम्रेनीदेखि कर्णाली प्रदेशको बराहताल गाउँपालिकाको तेलपानीहुँदै कर्णालीसम्म चिट्ठीपत्र पु¥याउन पाँच दशक अघि तत्कालीन जिल्ला पञ्चायतले २०२५ सालमा हुलाकी सडकका रूपमा ट्र्याक खोलेको थियो ।
सुर्खेत–भुरीगाउँ जोड्ने यो सडक स्तरोन्नति हुन सके यहाँको बजार विस्तार हुनुका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेश कर्णालीसँगको छोटो दूरीमा जोडिन्छ । हाल कर्णालीका नागरिकलाई बर्दिया तथा सुदूरपश्चिम जान बाँकेको कोहलपुर पुग्नुपर्ने बाध्यता छ ।

सुशील खड्का । १९ बैशाख २०८२, शुक्रबार १६:२३