नीति तथा कार्यक्रम: देशभित्रै रोजगारीको अवसर, कमाउँदै पढ्दैको व्यवस्था



काठमाडौँ । सरकारले देशभित्रै उद्यमशीलता प्रवद्र्धन गरी युवाका लागि रोजगारीको अवसर सिर्जना गर्ने भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त सदनमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

देशभित्रै रोजगारीको वातावरण बनाइ युवाशक्ति पलायनलाई न्यूनीकरण गर्ने सरकारले नीति लिएको छ ।

त्यस्तै आगामी दशकलाई आन्तरिक रोजगारी सरकारी रूपमा मनाउने नीति सरकारले लिएको छ । रोजगारी तथा ज्याला रोजगारीको माध्यमबाट आन्तरिक रोजगारीको सृजना गर्ने सरकारको नीति रहेको छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित बनाउन नीति, कानुन र कार्यविधि संशोधन तथा तर्जुमा गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला तोकेर कमाउँदै पढ्दैको नीति लागू गर्ने सरकारले नीति लिएको छ ।

त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकेट मैदानमा रूपान्तरण गर्ने नीति लिएको सरकारले सार्वजनिक र निजी शैक्षिक संस्थाबीच समन्वय बढाइने बताएको छ ।

सार्वजनिक र निजी शैक्षिक क्षेत्रबीच सहकार्यको वातावरण बनाउने नीति सरकारले लिएको छ । सार्वजनिक क्षेत्रका थिंक ट्यांक अनुसन्धान केन्द्रहरूलाई समन्वयात्मक ढंगले अघि बढाउने नीति सरकारले लिएको छ ।

त्यस्तै साइबर सेक्युरिटी तथा एप डेभलपमेन्ट तथा त्यससँग जोडिएका प्रणालीलाई समन्वयात्मक तवरबाट अघि बढाउने नीति सरकारले लिएको छ ।

बौद्धिक सम्पत्ति, नवप्रवर्तन र अनुसन्धानलाई ज्ञान र सीपलाई अनुसन्धान तथा वैज्ञानिक जनशक्तिलाई उत्पादन तथा संस्थागत अनुसन्धान अघि बढाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

तपाईको प्रतिक्रिया