देउरानीको बाउसी प्रहारबाट जेठानी गम्भीर घाइते



मुगु । देउरानीले बाउसी प्रहारबाट मुगुमा जेठानी गम्भीर घाइते भएकी छन् । छायाँनाथ रारा नगरपालिका– १२ लुम्स गाउँमा देउरानीले जेठानीलाई घरेलु हतियार बाउसो प्रहार गरी गम्भीर घाइते बनाएकी हुन् ।

मंगलबार घरेलु जग्गा विवादका कारण झगडा हुँदा देउरानी बिमला बुढाले जेठानी दुर्गा ऐडीलाई टाउकोमा घरेलु हतियार बाउसी प्रयोग गरी घाइते बनाएको मुगु प्रहरीले जनाएको छ । घाइते दुर्गा ऐडीको टाउको र अनुहारमा गहिरो चोट लागेको प्रहरीले जनाइएको छ ।

कुनिउखात भन्ने स्थानको जग्गा तीन भाइमध्ये कसैलाई भागबण्डा नगरिएको र त्यही जग्गा देउरानीले मेरो भाग हुनुपर्छ र जेठानीले मेरो भागमा हुनुपर्छ भन्ने विवादले झगडा भएको ससुरा बाचुराम ऐडी बताए ।

त्यही विवादका कारण झगडा हुँदै गर्दा देउरानी वर्ष २५ की बिमला बुढाले जेठानी वर्ष ३६ की दुर्गा ऐडीलाई घरेलु हतियार बाउसो प्रहार गरेर घाइते बनाएको ससुरा बाचुरामले बताए ।

झगडाको मुख्य कारण नै जग्गा विवाद भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । अहिले घरेलु हतियार प्रयोग गरी घाइते बनाउने बिमलालाई पक्राउ गरी ६ दिन म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

गम्भीर घाइते दुर्गाको जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रिफर गरी उपचार भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया