सुर्खेत । सुर्खेत–कैलाली र सुर्खेत र अछाम जोड्न कर्णाली नदीमा पक्की पुल निर्माण शुरु गरिएको छ । सुर्खेतको चौकुने गाउँपालिका–२ धम्मु र कैलालीको मोहन्याल गाउँपालिका–२ कोल्तडी जोड्न कर्णाली नदीमा पक्की पुल निर्माण थालिएको हो ।

कैलाली र सुर्खेत जोड्ने पुल निर्माणको काम अहिले भइरहेको मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर साउँदले नेपालकर्मलाई जानकारी दिए ।
उनले तीन वर्ष अगाडी नै सम्झौता भएको पुल सडक असहजताका कारण भर्खरै शुरु भएको बताए । ‘पुल निर्माणका लागि ठूला मेशिनरी सामग्री ढुवानीमा कठिनाई हुँदा केही ढिला भएको भन्ने जानकारी पाएका छौं,’ साउँदले भने, ‘पूर्व पश्चिम राजमार्गको कैलालीको जोशीपुर गाउँपालिकास्थित बौनियाबाट शुरु हुने सेती राजमार्गको ट्र्याक खुलेको र सडक चौडा पार्ने काम अन्तिम चरणमा रहेकाले आवश्यक सामग्री ढुवानी गरेर समयमै काम सक्ने निर्माण व्यवसायीबाट आश्वासन पाएका छौं ।’

अनक कन्ट्रक्शनले निर्माण जिम्मा पाएको पुलको लागत ५५ करोड ४० लाख रहेको सेती राजमार्ग दक्षिण खण्ड टिकापुर–लोडे–चैनपुर सडक योजना साँफेबगर अछामले जानकारी दिएको छ ।
२१ मंसिर २०७९ मा सम्झौता गरिएको पुल निर्माणको अवधि २१ भदौ २०८३ रहेको छ । कर्णाली नदीमा पक्की पुल निर्माण हुन थालेपछि चौकुने गाउँपालिका–२ धम्मु र दानीगौडाका नागरिकहरुलाई वारपार गर्न सहज हुनेछ ।
यी दुई गाउँमा झण्डै ५० घरधुरी छन् । कक्षा पाँचसम्म धम्मुमा पढाइ हुन्छ । बाँकी शिक्षा लिन यहाँका विद्यार्थीहरु जोखिमका यात्रा तय गरेर मोहन्याल गाउँपालिका–२ कोल्तडीमा रहेका महेन्द्र माध्यमिक विद्यालयमा पढ्न जाने गरेका छन् ।

यता अछाम जोडन जंगलाघाटमा पक्की पुल निर्माणको काम जारी छ । पञ्चपुरी नगरपालिका सुर्खेत र तुर्माखाँद गाउँपालिका अछामको सीमानामा पर्ने जंगलाघाटको कर्णाली नदीमा पक्की पुल निर्माण भइरहेको पुल सेक्टर कार्यालय सुर्खेतका ईन्जिनियर देवेन्द्र भट्टराईले जानकारी दिए ।

पुल निर्माणका लागि ८ साउन २०७८ मै सम्झौता गरिएको हो । तर पुलको डिजाइन र निर्माण दुवै निर्माण व्यवसायीले गर्नेगरी सम्झौता गरेकाले निर्माण थालनीमा थोरै विलम्ब भएपनि अहिले काम भइरहेको ईन्जिनियर भट्टराईले बताए ।
‘३६ महिनामा पुल निर्माण गरिसक्नुपर्ने हो,’ भट्टराई भन्छन्, ‘पुल निर्माणका लागि आवश्यक ठूला मेशीनरी सामग्री ढुवानी गर्न सुर्खेततर्फको सडक साँघुरो भएकाले अछामतर्फबाट सामान पुल निर्माण स्थलमा पु¥याएर काम भइरहेको छ । १० कार्तिक २०८३ सम्ममा कर्णाली नदीमा पुक्की पुल निर्माण सम्पन्न गर्नेगरी म्याद थप गरिएको छ ।
१६ करोड ५८ लाख ६४ हजार लागत रहेको पुल निर्माणको जिम्मा लामा कन्ट्रक्शन प्रा.लि. काठमाडौंले लिएको छ । निर्माण व्यवसायीले पञ्चपुरी नगरपालिकालाई मेशीन ढुवानी गर्दा मोड साँघुरो भएकाले फराकिलो बनाइदिन अनुरोध गरेपनि नगरपालिकाले वास्ता नगर्दा काममा विलम्ब भएको निर्माण व्यवसायीको गुनासो छ ।
दोबाटोबाट छाप्रेहुँदै जंगलाघाट पुक्ने अधिकाँश मोड साँघुरा रहेको र कटिङ गर्न बजेटको खोजी गर्दा जुटाउन नसक्दा आगामी आर्थिक वर्षमा प्रदेशलाई प्राथमिकतामा राखिदिन अनुरोध गरिएको पञ्चपुरी नगरपालिकाका प्रमुख लालबहादुर भण्डारी बताउँछन् । जंगलाघाटमा पक्की पुल निर्माणपछि अछाम, बाजुराका नागरिकहरु यहीँ सडक भएर कैलाली जान सहज हुनेछ ।

सुशील खड्का । १५ बैशाख २०८२, सोमबार १९:१३