छोरी जन्माएकै दुई घण्टामै आमाले संसार त्यागिन, चार छोरीको विचल्ली

सुर्खेत । आठविस नगरपालिका–१, सुकीपिउली दैलेखमा रामसरा नेपालीको घर र जग्गा छ । एलानी जग्गामा बनेको घरले मात्रै छोरीहरुको भोको पेट भर्न कठिन थियो ।



उब्जाउको लागि जग्गा नहुनु र गरिब भएकै कारण दैनिक छाक टार्न कठिन भयो । जन्मिएका छोरीहरुको लालनपालनका लागि अन्तत उनी श्रीमान हरिस नेपालीसँगै विरानो मुलुक भारत पुगिन् ।

हातमा सीप नभएपछि ज्याला मजदुरीका लागि उनको परिवार भारतस्थित उत्तराखण्ड प्रदेशको कुमाउ पुग्यो । शुरुवातमा जेनतेन परिवारका लागि जोहो राम्रै चलेको थियो ।

साथमा रहेकी तीन छोरीका लागि गर्जो टार्न कुनै मुश्किल थिएन् । दैनिक ज्याला मजदुरीबाट साँझ विहानको छाक राम्रै चलेको थियो । तीन छोरीपछि रामसरा गर्भवति भइन् ।

शुरुमा उनको स्वास्थ्य ठिकै थियो । श्रीमान काम गर्न जान्थे । रामसरा तीन छोरीको हेरचाहसँगै पेटमा भएको बच्चाका कारण काममा गइनन् ।

श्रीमानले नै कमाएको रकमले दैनिकी टर्थ्याे । पेटमा बच्च हुर्कदै गयो । ९ महिनामा उनले चौथो सन्तानको रुपमा छोरीलाई जन्म दिइन् । शिशु जन्मिदासम्म ठिकै रहेको आमाको स्वास्थ्य एक्काशी विग्रियो ।

श्रीमती र छोरीको उज्वल भविष्यका लागि भारत छिरेका हरिसमाथि बज्रपात थपियो । अत्यधिक रक्तश्रावकै कारण रामसराले छोरी जन्मिएको दुई घण्टामै संसार त्यागिन् । श्रीमतीको मृत्युपछि विछिप्त बनेका हरिस अझै अर्धअचेत छन् ।

श्रीमतीको अन्तिम संस्कार भारतमै गरेर बाँकी काजकिरियाका लागि हरिस चार छोरी लिएर नेपाल फर्किए । उनी अहिले सुकिपिउलीस्थित घरमा छन् ।

‘श्रीमतीको वियोगान्तमा बिछिप्त बनेका हरिसलाई सान्तवना दिन घर पुग्नेहरु चार छोरीहरुको विचल्ली देखेर दुःखीद् छन्,’ हरिसका भाइ (फुपूका छोरा) टेकेन्द्र परियार भन्छन्, ‘एकातिर ११ दिनको छोरी रोएर घरको माहोल स्तव्ध बनेको छ । अर्कोतिर हुर्किएका तीन छोरी आमा भएको ठाउँ जाउ भनिरहँदा सबैको आँखा रसाउछन् ।’

रामसराका जेठी छोरी पूजा साढे चार वर्ष, माईली निशा तीन वर्ष र साईली चन्द्रकला साढे एक वर्षकी छन् । ११ दिनकी चौथी छोरीलाई कसरी पालन पोषण गर्ने भन्ने पिरलो दाजु (हरिस) लाई रहेको टेकेन्द्र बताउँछन् ।

‘एलानी जग्गामा बस्नलाई घर छ, छोरी हुर्काउने सामथ्र्य हरिससँग छैन,’ टेकेन्द्रले थपे, ‘हुर्किएकी छोरी हुर्काइदिने कुनै सहयोगी संस्थाले साथ दिएको भए उनको भविष्य बन्थ्यो की ।’

तपाईको प्रतिक्रिया