
सल्यान । बनगाड कुपिण्डे नगरपालिका–१२ निगालचुला सल्यानमा किसानले लगाएको आलुमा पुतली कीराको प्रकोप देखापरेको छ । ६८ घरपरिवारले करिब साढे १७ हेक्टर क्षेत्रफलमा लगाइएको आलु खेतीमा पुतली किराको प्रकोप देखा परेका हो ।

वर्षे आलुमा पुतली कीरा टुवर मोथको प्रकोप देखिएपछि यहाँका किसान समस्यामा परेको एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख चित्रबहादुर रोकायले जानकारी दिए । भण्डारणका क्रममा देखिने पुतली कीरा अहिले आलु बारीमै देखिन थालेको हो ।
करिब ३ सय ४० रोपनी भन्दा बढिमा किसानले लगाएको आलुमा रोग किरा देखा परेको थाहा पाएपछि प्रयोगशालाको टोली कृषकको बारीमा पुगेको रोकायले बताए ।

क्षतिगस्त्र आलुको बीउमा भएको लार्भाअवस्था बयस्कमा परिणतहुँदा आलु बालीको पातमा फुल पारी लार्भाले संक्रमण फैलिएको पाइएको उनी बताउँछन् ।
समस्याको रुपमा रोग किरा देखापरेपछि कर्णाली प्रदेशको एकीकृत कृषि प्रयोगशाला बाट बिज्ञ सहितको टोलीले स्थालगत अनुगमन गरि उपचार सुरु गरेको रोकायले बताए ।
प्रकोपको मुख्य कारण किसानले प्रयोग गरेको क्षतिग्रस्त बीउ भएको पाइएको छ । क्षतिग्रस्त बीउमा रहेको कीराको लार्भा अवस्था वयस्क पुतलीमा परिणत भएको र खडाबालीमा आक्रमण गरेको उनले बताए ।
‘वयस्क कीराले बालीको पातमा अण्डा फुलाउँछ, र त्यसबाट निस्केको लार्भाले आलुको बोटमा ठुलो क्षति पु¥याउछ,’ रोकायले भने, ‘खेतमै पुतली कीराको प्रकोप देखिनु अत्यन्त चिन्ताको विषय हो । यसको निधानको विषयमा उपचार गरिसकेका छौं ।’

निगालचुलाका कृषकहरूले वर्षे आलुलाई प्रमुख नगदे बालीका रूपमा खेती गर्दै आएका छन् । आलु खेतीमा देखिएको समस्या समाधानका तत्कालको लागि बिषादी वितरण र प्रविधिको प्रयोगमार्फत नियन्त्रणमा ल्याउने प्रयास भइरहेको रोकायले बताए ।
‘दुई तीन बर्ष पहिले यो क्षेत्रमा यस्तो समस्या नदेखिएको र अहिले जलवायु परिवर्तन नै यसको कारक बनेको हो,’ उनले भने, ‘पुतली किराको प्रकोप सँगै फेद काटने किराको पनि समस्या देखिएको छ ।’
प्रयोगशालाले तत्कालका लागि निम तेल, पि.टि.एम ल्युर, र विषादी छर्नका लागि स्प्रेयर ट्यांकी समेत कृषकहरुलाई निःशुल्क प्रदान गरेको छ । प्राविधिक निरीक्षणपछि कीराको प्रकोप रोकथामका लागि आवश्यक उपायहरू अपनाउन सुझाव दिइएको छ ।
कृषकहरूलाई सचेत गराउँदै कृषि प्राविधिकहरूले रोग फैलन नदिन खेतमै क्षतिग्रस्त बोटहरू हटाउने, पुराना बीउ प्रयोग नगर्ने र उचित जैविक नियन्त्रण उपाय अपनाउने सुझाव दिएको रोकायले बताए ।
निगांलचुलाका कृषकहरूको जीवनयापन कृषिमा आधारित रहेको र यो रोग दीर्घकालीन रूपमा दोहोरिन नदिन उचित बीउ छनोट, भण्डारण विधि सुधार र वैज्ञानिक कृषि पद्धतिमा ध्यान दिन सुझाव दिएको उनले बताए ।
नेपाल कर्म । १४ बैशाख २०८२, आईतवार ११:४०