आजको युग ज्ञानको युग होः मुख्यमन्त्री कँडेल


सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आजको युग ज्ञानको युग भएको बताएका छन् । आजदेखि मध्यपश्चिम विश्वविद्यालय आयोजना गरेको दुई दिने अन्र्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सोक ुरा बताएका हुन् ।



सूचना प्रविधि, र नवप्रवर्तनको तीव्र विकाससँगै समाज, शिक्षा प्रणाली र व्यवसायिक सोचमा आमूल परिवर्तन आइरहेको मुख्यमन्त्री कँडेलले बताए । ‘यो परिवर्तनको यथार्थलाई स्वीकार गर्दै अब हाम्रा विश्वविद्यालयहरुले नीतिगत, प्राज्ञिक र व्यावसायिक रूपमा आफू अब्बल सावित गर्नु पर्ने अवस्था सृजना हुँदै गएको मैलै महशुस गरेको छु,’ उनले भने,‘आजको विश्व तीव्र गतिमा परिवर्तन भइरहेको छ । प्रविधि, जलवायु परिवर्तन, भूराजनीतिक परिवर्तन जस्ता विषयहरूले हाम्रो जीवनका हरेक पक्षलाई प्रभाव पारिरहेका छन् ।’

यस्तो परिवर्तनशील विश्वमा हामीले शिक्षा, समाज र व्यवसायलाई कसरी अगाडि बढाउने भन्ने विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने भएको मुख्यमन्त्री कँडेलले बताए । ‘आजको समयको माग भनेको व्यवसायमा नवप्रवर्तन, स्टार्टअप संस्कृति र सामाजिक उद्यमशीलता स्थापित गर्दै जानु हो,’उनले भने,‘यस्ता कार्यक्रमहरुले मानव सभ्यतामा विशेष योगदान दिनसक्ने नविनतम विषयहरुलाई थप जागृत र स्वावलम्बी समाज निर्माणमा टेवा दिन सक्ने मैले अपेक्षा गरेको छु ।’

यस सम्मेलनबाट शिक्षाविद्, समाजशास्त्री, व्यवसायविद् र नीति निर्माणकर्ताहरूबीच बहस, छलफल र विचार आदान–प्रदानसँगै विभिन्न विशिस्ट सत्रहरुमा सिर्जना भएका बहसले हाम्रो नीति, योजना र कार्यान्वयनमा मार्गदर्शन दिन सफल हुने मुख्यमन्त्री कँडेलले बताए ।

तपाईको प्रतिक्रिया