कालिकोटको खाँडाचक्र नगरपालिकामा लगाएको ताला खुल्यो


सुर्खेत । कालिकोटको खाँडाचक्र नगरपालिका कर्मचारी र उपभोक्ता समितिले लगाएको ताला खुलेको छ । करार सेवामा कार्यरत कर्मचारीहरूले तलब नपाएको भन्दै र उपभोक्ता समितिले योजनाको भुक्तानी नपाएको भन्दै तालाबन्दी गरेका थिए ।



नगरपालिका र कर्मचारीबीच पाँच दिनभित्र तलब उपलब्ध गराउने सहमतिपछि ताला खोलिएको हो ।

ताला लगिएपछि प्रमुख प्रशासकीय अधिकृत, नगरप्रमुख कमलबहादुर शाही र कर्मचारी प्रतिनिधिबीच भएको छलफलमा आर्थिक प्रक्रियागत ढिलार्इ स्वीकार्दै करार कर्मचारीसहित उपभोक्ताको भुक्तानी पनि पाँच दिनभित्र उपलब्ध गराउने लिखित सहमति गरेपछि ताला खुलेको छ ।

कर्मचारीहरूको जायज मागप्रति नगरपालिका गम्भीर रहेको नगर प्रमुख कमलबहादुर शाहीले बताए । ‘आवश्यक आर्थिक व्यवस्थापन गरेर तलब र योजनाको भुक्तानी उपलब्ध गराउनेछौं,’ उनले भने,‘सहमति अनुसार नै ताला खुलेको छ ।’

ताला खोलिएसँगै कार्यालय पुनःसञ्चालनमा आएको छ भने कर्मचारीहरू पनि नियमित काममा फर्किएका छन् ।

तपाईको प्रतिक्रिया